काठमाडौं- अफ्रिकी देश बुर्किना फासोमा इस्लामिक आतंककारी समूहले ३१ महिलासहित ३५ जनाको हत्या गरेको छ।
अधिकारीहरुका अनुसार उक्त समूहले मंगलबार सौम प्रान्तको अर्विन्दामा अरु ८७ जनाको हत्या गरेको थियो।
ठूलो संख्यामा नागरिकको हत्या गरेपछि राष्ट्रपति रोच मार्क क्रिश्टियन काबोरले दुई दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।
गत नोभेम्बरमा उक्त समूहले बुर्किना फासोको सीमा क्षेत्र दक्षिणी मालीमा हेलिकोप्टरमा आक्रमण गरी १३ सैनिकको हत्या गरिदिएको थियो।
सो समयपछि लगातार यस्ता घटना भइरहेको अधिकारीहरुले जनाएका छन्।
गत हप्ता फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले अतिवादीविरुद्धको कारबाही जारी राख्ने बताएका थिए।
मंगलबार दर्जानौँ मोटरसाइकलमा आएका आक्रमणकारीले केही घण्टासम्म सर्वसाधारण नागरिकमाथि लगातार आक्रमण गरेका थिए।
सो आक्रमणमा ८० जना सर्वसाधारण र ७ जना लडाकुको मृत्यु भएको थियो।
ती क्षेत्रमा अहिले इस्लामिक अतिवादी संगठन अलकायदासँग आबद्ध समूहहरु सक्रिय रहेको ठानिन्छ।
बुधबार भएको आक्रमणमा ३५ जनाको मृत्यु भएको र जसमा ३१ जना महिला रहेको राष्ट्रपति कार्यालयले प्रष्ट पारेको छ।
यसै डिसेम्बर महिनाको सुरुवातमा आतंककारीहरुले गरेको गोलाबारीमा एउटा चर्चमा १४ जनाको मृत्यु भएको थियो।
बुर्किना फासो खासगरी एउटा मुस्लिम देश हो। सन् २०१५ पछि त्यस देशमा भएका विभिन्न आक्रमणमा ७०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ भने ५ लाख ६० हजार मानिस विस्थापित भएका छन्।
छिमेकी देश मालीमा रहेको अतिवादी समूहमाथि फ्रान्सले सैन्य कारबाही गर्न थालेदेखि यसको प्रत्यक्ष असर बुर्किना फासोमा पर्दै आएको छ।