पोखरा- पोखरा प्रिमियर लिग क्रिकेटमा एक्सपर्ट धनगढी बुटवल ब्लास्टर्ससँग ७ विकेटले पराजित भएकाे छ।
धनगढीले दिएको १ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
बुटवलले भने प्लेअफमा स्थान बनाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ६१ रन बनाएका थिए।
उनले ४५ बलमा ६ चौका र २ छक्काको मद्दतले ६१ रन बनाएर आउट भएका थिए। त्यस्तै सन्दीप जोराले पनि ३२ बलमा ३९ रन बनाएका थिए।
सौरभ खनालले पनि १० रनको योगदान गरेका थिए।
बुटवलका लागि अविनाश बोहराले ४ तथा ललित सिंह भण्डारीले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए।
जवाफमा बुटवलले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उत्कृष्ट सुरुवात गरेको बुटवलले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरेको थियो। उसका ओपनर अफ्ताबुद्दिन अहमेदले विस्फोटक ब्याटिङ गर्दै ५२ रन बनाए।
जसमा उनले २३ बलमा एक चौका र सात छक्का प्रहार गरे। ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलले एक सय ५ रनमा दोस्रो विकेट झार्न पुग्यो।
दोस्रो विकेटका लागि पनि हर्ष टोंकले २१ बलमा ४० रन बनाए। उनले तीन चौका र चार छक्का प्रहार गरे।
अन्तिममा शिवम सिंहले १५ रन बनाए। बलिङमा धनगढीका अनिल खरेलले दुई विकेट लिए।