काठमाडौं- अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको बिहीबार राती सम्पन्न युरोपेली छनोटमा विश्व नम्बर वान बेल्जियमले इस्टोनियामाथि ५–२ गोलअन्तरको सानदर जित निकालेको छ।
समूह ई अन्तर्गत सम्पन्न खेलमा घरेलु टिम स्टोनियाले पाहुना टिम बेल्जियमसँग हार बेहोरेको हो।
बेल्जियमको जितका लागि हान्स वान्केन, रोमेलु लुकाकू, एक्सल विट्ल र थोमस फोकटले गोल गरेका थिए। लुकाकूले दुई गोल गरे भने बाँकी खेलाडीले समान १–१ गोल गरे। यता स्टोनियाका लागि माथ्थियस कैट र एरिक सोर्गले गोल गरे।
खेलको पहिलो हाफमा २–१ गोलको लिड बनाएको बेल्जियमले दोस्रो हाफको तीन गोल थपेको थियो।
यो जितसँगै बेल्जियम तीन जित र एक बराबरीका साथ समूह ईको शीर्षस्थानमा छ। त्यस्तै, शून्य जितका साथ स्टोनिया तालिकाको पुछार अर्थात् पाँचौ स्थानमा छ।
बिहीबार रातीकै समूह सीको खेलमा युरोपियन बिजेता इटाली बुल्गेरियासँग १–१ गोलको बराबरीमा रोकिएको छ। फेडेरिको किएजाले १६ औं मिनेटमा बनाएको अग्रता बुल्गेरियाका इलिभले ३९ औं मिनेटमा बराबरी गरेपछि इटाली बराबरीमा रोकिएको हो।
समूह सीमा तीन जित र एक बराबरीका साथ इटाली शीर्षस्थानमा छ भने बुल्गेरिया दुई अंकका साथ चौथो स्थानमा छ।
त्यस्तै, समूह बीको खेलमा स्पेनले स्विडेनसँग २–१ गोलको हार बेहोरेको छ। खेलको चौथो मिनेटमा पाहुना टिम स्पेनका कार्लोस सोलरले गोल गरे पनि स्विडेनले पाँचौ मिनेटमै बराबरी गरेका थिए।
तर स्विडेनका भिक्टोर कलिसनले ५७औं मिनेटमा गोल गरेपछि स्विडेनले अग्रता बनाएको थियो। सोही अग्रताका साथ स्विडेनले खेल जित्यो।
तीन खेलमा सतप्रतिशत जितसँगै नौ अंक बनाएको स्विडेन शीर्षस्थानमा छ भने एक खेल धेरै खेलेको स्पेन सात अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो, चौथो र पाँचौ स्थानमा कोसाभो, ग्रिस र जर्जिया छन्।