काठमाडौं– कर्णाली प्रदेशका १० जिल्लामा नेपाल विद्युत प्राधिकरणमार्फत् २७.२९ प्रतिशत विद्युतीकरण भएको छ। यसमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले गरेको विद्युतीकरणको तथ्याङ्क समेटिएको छैन । कर्णाली प्रदेशमा प्राधिकरणका ग्राहकको संख्या ८५ हजारमात्रै छ ।
सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशतमात्रै विद्युतीकरण भएको छ । भौगोलिक कठिनाइ तथा विकटताले गर्दा यस प्रदेशमा विद्युतीकरण चुनौतीपूर्ण रहेको देखिएको छ।
चालू आर्थिक वर्ष (आव)मा यस प्रदेशमा विद्युतीकरणका लागि एक अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र ११ केभीका १२ वटा आयोजना संचालित छन् भने ७ वटा ३३–११ केभीका सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान गर्ने प्रक्रियामा छन् ।
प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोटमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र कालिकोट, हुम्ला,मुगु, डोल्पा र जुम्लामा लघु जलविद्युत् (माइक्रो हाइड्रो) मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।
३३ र ११ केभी प्रसारण लाइनमार्फत विद्युत आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने समस्या पनि छ । बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कोहलपुर–सुर्खेत १३२ प्रसारण लाइन र सुर्खेतमा १३२–३३–११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढेको प्राधिकरणले जनाएको छ ।
कर्णाली प्रादेशिक कार्यालय र मातहतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्न प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रदेशमा तीन वर्षभित्रमा शत्प्रतिशत विद्युतीकरण गर्नु पहिलो प्राथमिकता रहेको बताए ।