लखनउ - भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर प्रदर्शन जारी छ। उत्तर प्रदेशका करिब डेढ दर्जन शहरमा भएका प्रदर्शनमा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने १५ जना गम्भीर घाइते भएका छन्। कयौं प्रदर्शनकारी तथा प्रहरी घाइते भएका छन्।
उत्तर प्रदेशका गोरखपुर, बिजनौर, फिरोजाबाद, संभल, कानपुर, मेरठ, हापुड़, मुज़फ्फरनगर तथा सहारनपुरलगायतका क्षेत्रमा प्रदर्शन हिंसात्मक बन्दै गएको छ। प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा भइरहेको छ भने प्रदर्शनकारीहरु आगजनीमासमेत उत्रिएका छन्। उनीहरुले दर्जनौं सवारीसाधन जलाएका छन्।
ठाउँठाउँमा हिंसा भड्किन थालेपछि उत्तर प्रदेश सरकारले आज (शनिबार) उक्त क्षेत्रका सम्पूर्ण स्कुल तथा कलेजहरु बन्द गराएको छ। साथै प्रदेश सरकारले शान्ति कायम राख्न सबैमा अपिलसमेत गरेको छ। प्रदेश सरकारले थप हिंसा भड्किन नदिन केही जिल्लामा इन्टरनेट सेवा समेत बन्द गराएको छ। प्रदर्शनकारीहरुले प्रदेशका केही जिल्लामा बन्दको समेत घोषणा गरेका छन्।
यसैबीच देशभर प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिमण्डलको बैठक बोलाएका छन्।