सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी क्षेत्रको सबैभन्दा ठूलो योजनामा लगानी गर्दै नेपाल बैंक

निजी क्षेत्रको सबैभन्दा ठूलो योजनामा लगानी गर्दै नेपाल बैंक

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं। निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत परियोजना लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन जुटेको छ। नेपाल बैंकको नेतृत्वमा पाँच विभिन्न कम्पनीले ऋण लगानी गरेका हुन्। १६० मेगावाटको सो योजना दोलखामा अवस्थित छ।

सो आयोजना नासा हाइड्रोपावर कम्पनीले बनाउन लागेको हो। नेपालको सबैभन्दा ठूलो परियोजनाको रुपमा रहेको सो आयोजनाको सफ्ट क्लोजिङ मात्र भएको हो । एक महिनाभित्र ब्यवस्थापन गर्ने बैंकका अध्यक्ष वासुदेव अधिकारीले बताए।

हाल नेपाल बैंकले पाँच अर्ब लगानी गर्ने भएको छ। यो बैंकले गरेको अहिलेसम्मकै ठूलो लगानी हो। त्यसैगरी सो आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन्। आयोजनामा अन्य बैंकले पनि लगानी गर्नेबारे छलफल भइरहेको अधिकारीले जानकारी दिए। सो आयोजनाको लागत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ हो ।

मंगलबार साँझ भएको सम्झौताअनुसार पाँच संस्थाबाट १३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ। नेपाल बैंकको ५ अर्ब, नेपाल इन्भेष्टमेन्टको साढे तीन अर्ब, सञ्चय कोषको २ अर्ब, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ ऋण लगानी हुने बताइएको छ ।

परियोजनाको कुल लागतमध्ये ७५ प्रतिशत बैंकहरुले लगानी गर्न लागेका हुन्। सो आयोजनाले २०७४ साल पुस २ गते निर्माणको लागि अनुमति पाएको थियो । ऋण समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु र परियोजनाका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्। दुगड सनराइज बैंकका अध्यक्ष पनि हुन् ।

प्रकाशित: Dec 18, 2019| 11:40 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्