सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मूल्यवृद्धि ५.७६ प्रतिशत, व्यापार घाटा र रेमिट्‍यान्स घट्‍यो

मूल्यवृद्धि ५.७६ प्रतिशत, व्यापार घाटा र रेमिट्‍यान्स घट्‍यो

 |  बुधबार, पुस २, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २, २०७६

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा मूल्यवृद्धि ५.७६ प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ६.२१ रहेकोमा चौथो महिनामा भने केही घटेको हो ।

सरकारले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र मूल्यवृद्धि भने गत वर्षको तुलनामा केही बढी छ।

चालू आवको पहिलो चार महिनामा व्यापार घाटामा ८.९ प्रतिशतले कमी आई ४ खर्ब १४ अर्ब २ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । सरकारले निर्यात प्रवद्र्धन तथा आयातमा कमी ल्याउनका लागि नेपालमा नै उत्पादन हुने वस्तुको आयातमा भन्सार कर बढाउँदा ती वस्तुहरुको आयातमा कमी आई व्यापारघाटा कम हुन गएको हो ।

यस अवधिमा निर्यात २३.९ प्रतिशतले वृद्धि भई ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले मात्र वृद्धि भएको थियो । भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ ।

त्यस्तै चार महिनामा आयात ६.९ प्रतिशतले घटेर ४खर्ब ५० अर्ब ३० करोड रुपैयाँ भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ ।

रेमिट्यान्स २.३ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा २.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पहिलो चार महिनामा रेमिट्यान्स ३ खर्ब ०४ अर्ब ९७ करोडमात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो । त्यसैकारण पनि रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

शोधनान्तर बचतमा

कात्तिक महिनासम्ममा देशको शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा थियो । त्यस्तै यो अवधिमा नेपालको कुल विनिमय सन्चिति ६.२ प्रतिशतले बढेर ११ खर्ब ०३ अर्ब १२ करोड पुगेको छ । गत आर्थिक वर्षको अन्तसम्ममा यस्तो सन्चिति १० खर्ब ३८ अर्ब ९२ करोड रहेको थियो ।

त्यसैगरी चालू आर्थिक वर्षको पहिलो चार महिनामा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १८ हजार ७४३ जना ऋणीलाई ३९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १२६ जना ऋणीलाई १ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रबाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: Dec 18, 2019| 11:01 बुधबार, पुस २, २०७६
प्रतिक्रिया दिनुहोस्