बिहीबार, चैत १२, २०८२

गम्भीरमान मास्केको सालिक अनावरण

राजधानीको विश्व निकेतन माविका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक अनावरण गरिएको छ।
 |  सोमबार, मंसिर ३०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३०, २०७६

काठमाडौं ‍- राजधानीको विश्व निकेतन माविका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक अनावरण गरिएको छ।

National life

‘गुणस्तरीय शिक्षाका लागि हातेमालो’ भन्ने नारा आत्मसात् गर्दै स्थापित विश्व निकेतन–गम्भीरमान फाउन्डेसनले विद्यालय परिसरमा सालिक स्थापना गरेको हो। सालिकको शनिबार एक समारोहबीच अनावरण गरियो।

विद्यालयका पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारी, कमला शाक्य, निर्मल गिरी तथा मास्केका समवयी मित्र डा. हेरम्बबहादुर राजभण्डारीले संयुक्त रुपमा सालिक अनावरण गरेका हुन्।

कार्यक्रममा विद्यालयकी पूर्वशिक्षिका मञ्जु अधिकारीले सरलता नै गम्भीरमान सरको परिचायक भएको बताइन्।

‘गम्भीरमान सरले अभिभावकत्व लिएर शिक्षक तथा विद्यार्थीलाई सदैव प्रोत्साहन गर्ने तथा प्रशासनिक प्रमुख भएर शिक्षक तथा कर्मचारीलाई मित्रवत् व्यवहार गर्नुहुन्थ्यो,’ अधिकारीले स्मरण गरिन्।

Laxmi sunrise bank
kumari

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल श्रेष्ठले शिक्षा क्षेत्रका अनुकरणीय तथा आदरणीय व्यक्तित्व गम्भीरमान सरका विद्यार्थीले सामाजिक संस्था गठन गरी प्रशंसनीय कार्य गरेको बताए।

मास्केकी नातिनी डा. सफला मास्केले भनिन्, ‘उहाँले जहिल्यै पनि असल व्यक्ति बन्न प्रेरित गर्नुहुन्थ्यो। उहाँको त्यो गुण सबैका लागि अनुकरणीय छ।’

संस्थाका तर्फबाट विन्द्रा कक्षपति प्रधानले गम्भीरमान सरको शिक्षाप्रतिको समर्पणलाई फाउन्डसनले विस्तार गर्ने लक्ष्य राखेको बताए।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आफ्ना गुरुप्रति श्रद्धा अर्पण गर्न फाउन्डेसनमार्फत सालिक स्थापना हुनु गौरवको कुरा भएको बताए।

‘विश्व निकेतन भनिँदा गम्भीरमान तथा गम्भीरमान भनिँदा विश्न निकेतन बुझिने जुन पर्याय बनेको थियो। त्यसलाई सालिक स्थापनाले पूर्ण गराएको छ,’ कँडेलले भने।

विद्यालयका पूर्व प्रधानअध्यापक सत्यनारायण राजभण्डारीले मास्केले सधैं राम्रो गरे राम्रै हुन्छ भन्ने गरेको स्मरण गरे।

फाउन्डेसनले यसअघि स्वर्गीय मास्केको जन्मदिन पारेर उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङगरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशन गरिसकेको छ।

मास्केको ८६ वर्षको उमेरमा गत वर्ष मंसिर १६ गते निधन भएको थियो। २०१७ सालमा अंग्रेजी शिक्षकका रुपमा विश्व निकेतन प्रवेश गरेका मास्के २०२३ देखि २०५१ सम्म प्रधानाध्यापक थिए।

प्रकाशित: Dec 16, 2019| 04:45 सोमबार, मंसिर ३०, २०७६
प्रतिक्रिया दिनुहोस्