सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भ्रमण वर्षको प्रादेशिक उद्घाटन ठाकुरद्वाराबाट हुने, पर्यटकलाई प्याकेजमा छुट

भ्रमण वर्षको प्रादेशिक उद्घाटन ठाकुरद्वाराबाट हुने, पर्यटकलाई प्याकेजमा छुट

 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

भैरहवा । आगामी पुस १६ गते (जनवरी १) मा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा नेपाल भ्रमण वर्ष अभियानको उद्घाटन गर्दैछिन् । काठमाडौंसहित प्रादेशिक स्तरमा पनि भ्रमण वर्ष शुभारम्भ कार्यक्रम हुने भएको छ ।
यसअन्तर्गत प्रदेश नम्बर ५ को उद्घाटन कार्यक्रम बर्दियाको ठाकुरद्वारामा हुने भएको छ । कार्यक्रमको शुभारम्भ मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने ठाकुरद्वारा बाघ, हात्ती र गैडाको लागि प्रसिद्ध स्थल हो । उक्त स्थलबाट नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय कार्यक्रमको उद्घाटन गर्दा त्यसले विश्वमै राम्रो सन्देश प्रवाह हुने विश्वास गरिएको नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय समितिका सहसंयोजक माधव नेपालले बताए ।

लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेकने प्रदेश ५ सरकारले संघीय सरकारको कार्यक्रमलाई पनि भव्य रुपमा मनाउने गरी तयारी थालेको छ । नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले ७ वटै प्रदेशमा पर्यटन मन्त्रीको संयोजकत्वमा प्रदेश स्तरीय समिति गठन गरेको छ ।

सोहीअनुसार प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक र पर्यटन व्यवसायी माधव नेपाल सहसंयोजक रहेको समिति गठन गरी कामलाई तिव्रता दिएको छ ।

सोही समितिको सचिवालय बैठकले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक बर्दियाको ठाकुरद्वारामा आयोजना गरिने निर्णय गरेको सहसंयोजक नेपालले बताए ।

मन्त्री गिरीको अध्यक्षतामा बसेको बैठकले भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा बर्दियाको ठाकुरद्वारामा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बताए ।

उक्त कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका ५–५ जना सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।

उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत् माग गर्ने निर्णयसमेत गरिएको छ । उद्घाटनका दिन गावर भ्याली क्षेत्रमा जंगल सफारी पनि विधिवत् रुपमा सुरु गरिनेछ ।

भ्रमण वर्षको अवसरमा बाँकेका होटलहरुले प्याकेजमा आवास तथा खानाको व्यवस्थापन गर्ने भएका छन् । सचिवालय बैठकमा होटल व्यवसायी संघका प्रदेश समिति अध्यक्ष भाष्कर काफ्लेले भने, ‘सन् २०२० को शुरुवातमा २ हजार २० रुपैयाँमा एक रात दुई दिनको प्याकेज उपलब्ध गराउने निर्णय गरिएको छ ।’

सन् २०२० मा सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । सातवटै प्रदेशले भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गर्नेछन् । प्रदेश ५ को कार्यक्रम भव्य र आकर्षक बनाउन प्रदेश सरकार, समिति तथा पर्यटन व्यवसायीहरु जुटेको सचिवालय सदस्यसमेत रहेका नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका प्रदेश अध्यक्ष सागर अधिकारीले बताए ।

प्रकाशित: Dec 12, 2019| 08:46 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्