काठमाडौं– विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने जनाएको छ।
विश्व बैंकले बिहीबार ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गर्दै सो कुरा जनाएको हो। यसअघि बैंकले गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने जनाइएको थियो।
विश्व बैंकका अनुसार चालू आर्थिक वर्षमा मूल्यवृद्धि पनि पाँच प्रतिशत नाघ्ने छ। तर, यस वर्ष सेवा क्षेत्रमा भने विस्तार हुने विश्व बैंकले जनाएको छ। बैंकले नेपालले भ्रमण वर्ष सन् २०२० को प्रचार प्रसार पर्याप्त मात्रामा गरेको र त्यसका लागि पूर्वाधारमा पनि ठ्रलो लगानी गरेको हुँदा सेवा क्षेत्र बढ्ने बताएको हो।
बैंकले भ्रमण वर्षका लागि नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गर्ने र विभिन्न मुलुकसँगका हवाई सेवा सम्झौतापछि ‘एयर कनेक्टिभिटी’ बढ्ने लगायतका आधारमा सेवा क्षेत्रका विस्तार हुने जनाएको छ। बैकका अनुसार चालू आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रका वृद्धिदर ४ प्रतिशत, औद्योगिक क्षेत्रका वृद्धिदर ८.३ प्रतिशत र सेवा क्षेत्रका वृद्धिदर ७.२ प्रतिशत रहने छ।
बैंकका वरिष्ठ अर्थशास्त्री केन इमेजनरीले यस वर्ष नेपालको चालू खाता घाटा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ६.८ प्रतिशतमा झरे पनि वित्त घाटा भने बढेर जीडीपीको २.६ प्रतिशत पुग्ने बताए।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका वृद्धिदर कम आँकलन गरिएकोमा असन्तुष्टि जनाए। उनले बैंकले आफ्ना वृद्धि प्रक्षेपणमा पुनरावलोकन गरिरहेको भन्दै आउँदा दिनमा नेपालका वृद्धि प्रक्षेपण बढाउन आग्रह गरे।
“अहिले बैंकले प्रस्तुत गरेको तथ्यांकप्रति म सन्तुष्ट छु । तर, हामीले तीव्र आर्थिक वृद्धिका लागि काम गरिरहेका छौं,” अर्थमन्त्री डा. खतिवडाले भने, “हाम्रो लक्ष्य ८ प्रतिशत आर्थिक वृद्धि गर्ने हो । अहिले नै आत्तिएर आर्थिक वृद्धिको लक्ष्य परिवर्तन गर्ने बेला भएको छैन ।”