बुधबार, चैत ११, २०८२

जाडोमा कोल्ड डायरियाको जोखिम, कसरी बच्‍ने ?

जाडो याममा बढी देखिने समस्या कोल्ड डायरिया पनि हो। यो एक प्रकारको भाइरल डायरिया हो।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

जाडोको समयमा मानिसहरुलाई विभिन्न समस्या देखिन्छन्। रुघाखोकी, दम, उच्च रक्तचाप, जोर्नी दुखाइ, इन्फ्लुएन्जा आदिले सताउँछ जाडो याममा। विशेषगरी बालबालिकाहरु बढी जोखिममा हुन्छन्।

National life

जाडो याममा बढी देखिने समस्या कोल्ड डायरिया पनि हो। यो एक प्रकारको भाइरल डायरिया हो। खासगरी पाँच वर्ष मुनिका बालबालिकामा रोटा भाइरस नामक किटाणुले गर्दा कोल्ड डायरिया हुने गर्छ।

कोल्ड डायरिया हुँदा पानीजस्तो पातलो दिसा र बान्ता हुन्छ। भाइरस संक्रमण भएको दुई दिनभित्र यी लक्षणहरु देखिन्छन्। यो भाइरसका कारण हुने पखाला र बान्ताबाट नेपालमा मात्र नभई विश्वभर नै धेरै बालबालिकाको मृत्यु हुने गरेको छ। वयष्कहरुमा भने नोरो भाइरसले डायरिया र बान्ता गराउँछ। यसलाई ‘विन्टर भोमिटिङ बग’ पनि भनिन्छ।

गर्मी याममा हुने झाडापखाला जाडो मौसमको पखालाभन्दा बढी खतरनाक हुन्छ। जाडोमा डायरिया हुने मुख्य कारण चिसो लाग्नु हो। जाडो मौसम सुरु हुनेबित्तिकै रोटा भाइरस सक्रिय हुन्छ। नेपालमा कोल्ड डायरियाबारे खासै अध्ययन भएको छैन। अनौपचारिक तथ्यांकअनुसार पखाला र बान्ताको कारणले अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा रोटा भाइरसको संक्रमण देखिने गरेको छ।

डायरियाका कारण शरीरमा पानीको कमी हुन जान्छ र जलवियोजन (डिहाइड्रेसन) हुन्छ। सामान्य सावधानी राखेमा एक हप्ताजतिमा आफैं ठिक हुन्छ। कुनै औषधिको आवश्यकता पर्दैन। तर, डायरिया हप्ता दिन भन्दा बढी भयो भने यसलाई क्रोनिक डायरिया भनिन्छ। समयमा उपचार गरिएन भने ज्यानै जाने जेखिम पनि रहन्छ।

Laxmi sunrise bank
kumari

कसरी सकिन्छ बच्न ?

कोल्ड डायरिया सरुवा रोग हो। डायरिया भएको व्यक्तिको दिसा वा बान्ता, उसले प्रयोग गर्ने सामान आदिबाट यो डायरिया सर्छ। कोल्ड डायरिया भएका व्यक्तिहरुले सरसफाइमा ध्यान दिने र सफा खानेकुरा खानु नै यसको समाधान हो। रोटा भाइरस विरुद्धको खोप विकास भइसकेको छ र यो प्रभावकारी पनि देखिएको छ। बालखोप कार्यक्रममा यसलाई पनि समेट्ने हो भने कोल्ड डायरियाको जोखिमबाट बच्न सकिन्छ।

डायरियाबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ र चिसोबाट पनि बच्नुपर्छ। दिसा गरिसकेपछि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ। खाना खानुभन्दा अगाडि राम्रोसँग हात धुने, फलफूल तथा हरियो सागपात राम्रोसँग धोएर खाने, खानेकुरा छोपेर राख्ने जस्ता सावधानी अपनाए कोल्ड डायरिया हुनबाट बच्न सकिन्छ।

कोल्ड डायरिया भएमा के गर्ने ?

बच्चालाई जीवनजल खुवाइरहने
स्तनपान जारी राख्ने
खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्य पदार्थ खुवाउने
दुई दिनमा पनि डायरिया नरोकिए अस्पताल लैजाने

(टेकु अस्पतालका चिकित्सक डा. पुनसँग ज्योति अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित: Dec 11, 2019| 10:56 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्