जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीहरु इमानदार हुनुपर्ने बताएका छन्।
राष्ट्रसेवक कर्मचारीहरु इमानदार नभएसम्म मुलुकबाट भ्रष्टाचार अन्त्य हुन नसक्ने उनको भनाइ छ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले सोमबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन्।
कर्मचारीले बाटो देखाउदा भ्रष्टाचार हुने गरेको भन्दै उनले कर्मचारीले बाटो नदेखाए नेताले कुनै हालतमा भ्रष्टाचार गर्न नसक्ने दाबी गरे।
सामाजिक अवस्थाका कारणसमेत भ्रष्टाचारले प्रोत्साहन पाएको बताउँदै उनले भ्रष्टाचारीलाई तिरस्कार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
समाजले भ्रष्टाचारीलाई तिरस्कार गर्न सुरु गरे भ्रष्टाचार तत्काल उन्मुलन हुने राउतको तर्क थियो।
मुख्यमन्त्री राउतले कार्यालयको भित्तामा भ्रष्टाचारविरोधी ‘स्लोगन’ टाँसेरमात्र भ्रष्टाचार उन्मुलन हुन नसक्ने जिकिर गरे। भ्रष्टाचार नियन्त्रण गर्न अन्तरआत्मादेखि सबै तयार हुनुपर्ने उनको कथन थियो।
अख्तियारका बर्दिवास प्रमुख नारायणप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु जितेन्द्र सोनल, विजयकुमार यादव, ज्ञानेन्द्र यादव, नवलकिशोर साह, रामनरेश रायसहित राज्यमन्त्री, सुरक्षा निकायका प्रमुख लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।