बिहीबार, वैशाख ३१, २०८३

अष्ट्रेलियामा ‘रातो र चन्द्रसूर्य’को गुन्जनसँगै राष्ट्रिय झण्डा

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– नेपथ्य ब्यान्डले अष्ट्रेलियाको होबर्टमा कन्सर्ट गरेको छ। नेपथ्यको चर्चित गीत रातो र चन्द्रसूर्य गुन्जिँदा हलभित्र खचाखच दर्शक रोमाञ्चित भएका थिए। सोही समयमा हलबाहिर आकाशमा अष्ट्रेलिया र नेपालको विशाल झण्डा फहराइएको थियो।

National life

अष्ट्रेलियाको टापु राज्य तासमानियामा कन्सर्ट आयोजना भएको थियो । आइतबार बेलुकी कार्यक्रमस्थलमा आइपुगेका प्रायः दर्शकहरु हलभित्र पस्नुभन्दा अघि नेपाली झण्डा सामुन्ने ‘सेल्फी खिच्दै रमाइरहेका देखिन्थे । तासमानियामा पछिल्लो समय नेपालीको संख्या बढ्न थालेको छ ।

केही दिन अघिमात्र नेपथ्य टोली यहाँ आइपुगेको थियो। टोली आइपुग्नेबित्तिकै नेपालीहरुको सम्मानमा त्यहाँको होटलले प्रवेशविन्दुमै रहेको आफ्नो राष्ट्रिय झण्डाको छेवैमा उत्रै आकारको नेपाली झण्डा फहराइदिएको थियो।

“नेपथ्य आउनु अगावै हामीले होटल व्यवस्थापनलाई संसारभर फैलिएका नेपालीहरुका निम्ति यस ब्याण्डको महत्व अवगत गराइदिएका थियौं,” स्थानीय आयोजक टोलीका छत्र थापाले भने ।

कन्सर्ट अवधिभर नेपथ्यले पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो । यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा कन्सर्ट सम्पन्न भइसकेका छन्।

नेपथ्य यात्रा अब सिड्नीको हुनेछ । सिड्नीमा ब्याण्डले डिसेम्बर १४ मा आफूलाई प्रस्तुत गर्दैछ । यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’ स्थित बिग टप अडिटोरियममा तय गरिएको छ ।

यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य भने मेलबर्नको क्राउन स्थित ‘द पाम्स’ मा पुगेर हुनेछ । नेपथ्यको यस वर्षको यात्रा संयोजन सिड्नीस्थित ‘नेपाली टच’ले गर्दैआएको छ भने तासमानियामा चाहिँ ‘तास इभेन्ट’ले आयोजना गरेको थियो ।

 

प्रकाशित: Dec 09, 2019| 03:43 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्