काठमाडौं– यही मंसिर १५ गते सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता भोलि (मंगलबार) सकिँदैछ। सागको समापन समारोह र अन्तिम चरणका केही खेल पनि हुने भएकाले मंगलबार सकेसम्म कम सवारीसाधन चलाउन ट्राफिक प्रहरीले उपत्यकाबासीलाई अनुरोध गरेको छ। यसैगरी ठूला मालवाहक सवारीसाधन भोलि रिङरोड छिर्न पाउने छैनन्।
मंगलबार जोर नम्बरका मात्र सवारीसाधन चलाउन प्रहरीले यसअघि नै सूचना जारी गरिसकेको छ। साग उद्घाटनको दिन मंसिर १५ गते पनि जोरबिजोर प्रणाली लागू गरेको थियो।
सरकारी, अत्यावश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटक आवद्ध सवारी साधन भने चल्न पाउनेछन्।
समापन समारोह हुने दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ। खेल हेर्न आउनेका लागि काठमाडौंं मल अगाडिको टुँडिखेलमा पार्किङस्थल तोकिएको पनि प्रहरीले जनाएको छ।