भैरहवा । बुटवलको हिलपार्कस्थित प्रवेशद्वार अगाडि साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी भइरहेको छ । प्रगतिशील लेखक संघ रुपन्देहीको आयोजनामा साहित्य, कला, संस्कृति र संगीतको वर्तमान अवस्था बुझ्न महोत्सवले भूमिका खेल्ने आयोजकले बताएको छ ।
प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष दलबहादुर गुरुङका अनुसार शनिबार रामचन्द्र श्रेष्ठले सहरको सभ्यता विषयमा, प्राध्यापक दिल साहनीले समकालिन साहित्यमा प्रगतिशिलता विषयमा, प्राध्यापक हुमाकन्त पाण्डेयले श्रष्टा, साधना र सिर्जनात्मक उत्तरदायित्व विषयमा, डा. मुरारी पराजुलीले साहित्यको बजार प्रभाव विषयमा र विमल बहादुर शाक्यले बुटवलको ऐतिहासिकता विषयमा अनुसन्धानात्मक अवधारणापत्र पेश गरेका थिए ।
शुक्रबारदेखि शुरु भएको महोत्सवमा पहिलो दिन साहित्य, कला, संस्कृतिका माध्ययमबाट समृद्ध प्रदेशको परिकल्पना विषयमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले आफ्ना धारणा राखेका थिए । यसैगरी संस्कृति र साहित्यबीचको अन्तरसम्बन्धको विषयमा घनश्याम कोइरालाले, साहित्यमा जनस्वास्थ्य विषयमा डा. राजेन्द्र खनालले, पठन संस्कृतिको सम्बन्धमा जंगबहादुर शाहले आफ्ना अवधारणा राखेका थिए ।
कार्यक्रममा आइतबार रुपन्देहीको कला साहित्य यात्रा विषयमा ऋषिराम भुसालले, बालसाहित्य र अभिभावकत्व विषयमा प्रा.डा कपिल लामिछानेले, लोकगीतमा नारी चेतना विषयमा डा. लक्ष्मी पोखरेलले र बुटवलको साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल उपमहानगर सम्बन्धमा रामचन्द्र रेग्मीले आफ्ना धारणा राख्ने कार्यक्रम तय भएको छ ।
आयोजकका अनुसार विषय विज्ञहरुको धारणा सुन्न दैनिक सयौंको संख्यामा भीड नै लाग्ने गरेको छ । कार्यक्रममा पहिलो दिन ३ हजार सहभागी रहेको आयोजकले बताएका छन् । यसैगरी दोस्रो दिन पनि सोही अनुपातमा सहभागीको संख्या रहेको आयोजकको भनाइ छ । नेपालमा साहित्य महोत्सव भएता पनि पुस्तकसँग जोडेर साहित्य महोत्सव भएको भने पहिलो पटक भएको आयोजकको दाबी छ ।