सोमबार, भदौ १, २०८३

विश्वासघात गर्नेलाई ठेगान लगाउने देउवाको चेतावनी

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र विश्वासघात गर्नेलाई ठेगान लगाउने चेतावनी दिएका छन् । भैरहवामा शनिबार आयोजित पार्टीको नगर स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तरघातीहरुलाई निर्मूल पार्नुपर्ने बताए ।

उनले आक्रोश व्यक्त गरे, ‘पार्टीकै कार्यकता, नेता हुँ भन्ने अनि आफ्नैलाई हराउने ? त्यस्तो पनि गर्न पाइन्छ ? अब कडा हुनुपर्छ । अन्तरघातीलाई कारबाही गरेरै छोडिन्छ’ ।

सभापति देउवाले नेपाली कांग्रेलाई अझै ऊर्जावान र देशकै नम्बर एक पार्टी बनाउनेगरी काम अगाडि बढेको बताउँदै धोकेबाज र अन्तरघातीलाई तल्लो तहदेखि नै हटाउन निर्देशन समेत दिए । उनले भने, ‘कांग्रेसमा अन्तरघात रहँदासम्म पार्टी उँभो लाग्न सक्दैन । यसैले त्यस्ता व्यक्ति पहिचान गर्ने मात्रै होइन, पार्टीबाटै निष्कासन गर्नुपर्छ ।’

देउवाले शनिबार नै नेपाली कांग्रेसको सिद्धार्थनगर नगर समिति भैरहवाको नगर भेला तथा ह्विलचियर, साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसले देशैभर जनमत प्राप्त गर्ने पनि दाबी गरे । उनले भने, ‘हामीले धरानमा देखायौं, अब अर्को निर्वाचनमा देशैभर देखाउँछौं ।’

सभापति देउवाले भर्खरै सम्पन्न उपनिर्वाचनले पनि जनताको जनाधार कांग्रेससँगै छ भन्ने सन्देश दिएको तर्क गरे । उनले भने, ‘जनता कांग्रेसकै पक्षमा छन् । दाङ र पोखरामा सहानुभूतिले मात्रै काम गरेको हो ।’

कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिष्ट सरकारले विकास र समृद्धिको नाम दिएर जनतामाथि लाद्न खोजेको तानाशाही नीति, दृष्टिकोण तथा विचारविरुद्ध नेपाली कांग्रेसले सामना गर्ने बताए ।

सो अवसरमा कांग्रेस सिद्धार्थनगर समितिले शारीरिक रुपमा अपाङ्ग भएका ५ जनालाई ह्विलचियर र विपन्न परिवारका ४४ जना स्कुले बालबालिकालाई साइकल वितरण गरेको थियो ।

 

प्रकाशित: Dec 08, 2019| 03:28 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।