भरतपुर– चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो नगरपालिका–४ चेपाङमार्गबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ६४०९ नंको अटो राप्ती–५ डुम्रेखाडी पुल नजिक अनियन्त्रित भई पल्टिएको थियो ।
अटो पल्टिँदा अटोमा सवार पाँचको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
मृत्यु हुनेमा पर्वत कुस्मा पिपलटारी स्थायी ठेगना भइ चितवन खैरहनी नगरपालिका–८ का श्यामप्रसाद तिवारी,खैरहनी–९का विश्वमणि भण्डारी र राप्ती नगरपालिका–९ का मिना खड्का छन् ।
त्यसैगरी राप्ती–९ रसौलीकी माया तमाङको उपचारको क्रममा भरतपुरको सरकारी अस्पतालमा ज्यान गएको प्रहरीले जानकारी गराएको छ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी अन्दाजी ४० वर्षकी एक महिलाको भने नाम, थर ठेगाना नखुलेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाले बताए । पाँचै शव भरतपुर अस्पतालको शवगृहमा छन् ।
घाइते भई उपचारका लागि ल्याइएकामध्ये तीनको पुरानो मेडिकल कलेजमा र अन्य दुईको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।