काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कान्तिपुर दैनिकले राष्ट्रिय अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्वका कर्मचारीको राष्ट्रिय अनुसन्धान विभागले विषयलाई मुख्य समाचार बनाएको छ।
कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण वास्तविक विवरणसँग मेल नखाएपछि पहिलो चरणमा राजस्व समुहका कर्मचारीको विवरण अख्तियार पठाइएको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले स्थानीय सरकारले बालबालिका ओसारपसार गरेको थाहै नपाउने गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। नेपालले पुरुषतर्फ २४ वर्षपछि र महिलातर्फ पहिलो पटक साग म्याराथनको स्वर्ण जितेको विषयलाई पनि महत्वका साथ छापेको छ ।
आजको नागरिक दैनिकले २४ वर्षपछि म्याराथनमा स्वर्ण शीर्षकमा मुख्य समाचार छापेको छ । नेपाली धावक किरणसिंह बोगटीले पदक जिताएका हुन् ।
यस्तै देशका विभिन्न स्थानीय तह बेथितिको अखडा बनेको विषयलाई पनि नागरिकले प्राथमिकताका साथ छापेको छ । कतिपय स्थानीय तहमा कर्मचारीले कार्यालय नगएको दिन पनि हाजिरी लगाउने गरेको भेटिएको छ।
नयाँ पत्रिकाले फेवा तालको पानीमुनिको जग्ग पनि ब्यक्तिका नाममा पास भएको खुलासा गरेको छ । अतिक्रमण गरेको १६ सय ९२ रोपनी जग्गामध्ये ६ सय ७३ कित्ता व्यक्तिका नाममा लालपुर्जा रहेको समाचारमा उल्लेख छ ।
यस्तै सागमा आएका १३ श्रीलंकाली खेलाडीलाई डेंगु देखिएको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ। एक खेलाडीलाई आइसियूमै राखेर उपचार गरिराखिएको समाचारमा उल्लेख छ ।
आजको अन्नपूर्ण पोस्ट्ले सडक दुर्घटनाकै कारण वर्षेनी ३० अर्बको क्षति हुने गरेको विषयलाई मुख्य समाचार बनाएको छ।