काठमाडौं– एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष प्रितम गुरुङ र वडा नं. ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भयो ।
उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । सो सेवाबाट बैंकिङ कारोबारको लागि लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।