सोमबार, भदौ १, २०८३

४ सय केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।

पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ। मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ।

सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ। साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९४५ केभीए छ। २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ। वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ’घिसिङले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’ दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ। ढल्केबरमा ४ सय केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा संचालन हुने छ।

माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ। यसका लागि आयोजनाले गोंगर-खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। खिम्ती-ढल्केबर प्रसारण लाइन यसअघि नै संचालनमा आइसकेको छ।

सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुई वटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ। यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ। अन्य उपकरणहरु निर्माणस्थलमा आइसकेका छन्। उपकरणहरुको जडान धमाधम भइरहेको छ।

सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्।

नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ।
निर्देशक कुलमान घिसिङले मंगलबार निर्माण कार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिए।

सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेको छ।

प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ।

उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो।

प्रकाशित: Dec 05, 2019| 11:04 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।