सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो, ऋणभन्दा अनुदान बढी

वैदेशिक सहायता ५६.४८ प्रतिशतले घट्यो, ऋणभन्दा अनुदान बढी

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं। नेपालमा भित्रने वैदेशिक प्रतिवद्धता घटेको छ। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता ५६.४८ प्रतिशतले घटेको हो।

चालू आवको पहिलो तीन महिनामा नेपाल भित्रने वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब ६८ करोड रुपैयाँमात्र रहेको छ। गत वर्षको सोही अवधिमा भने यस्तो प्रतिवद्धता २७ अर्ब ७६ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसवर्ष वैदेशिक सहायतामध्ये अनुदानको हिस्सा ६२.६ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदानको हिस्सा ७८.८ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यस्तो हिस्सा जम्मा १६.२ प्रतिशतमात्र थियो।

अर्थ मन्त्रालयले जारी गरेको तीन महिने आर्थिक समीक्षाअनुसार आर्थिक वर्ष सुरु भएको तीन महिनामा वैदेशिक ऋण सहायता ६२.६ प्रतिशतले नै घटेको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण सहायता २१ प्रतिशत रहेको छ। तर गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सहायता ८३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

चालू आर्थिक वर्षको असोज महिनामा भूकम्प प्रभावित क्षेत्रमा घरहरुको पुनर्निर्माण र शिक्षा तथा स्वास्थ सुविधा पुर्याउने परियोजनाको लागि ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त भएको छ।

गत वर्ष ऋण सहायता बढेको थियो तर यस वर्ष भने अनुदान बढेको छ। यसरी ऋणभन्दा अनुदान बढ्नु राम्रो संकेत नहुने विज्ञहरु बताउँछन्। ऋण बढ्दा नेपालप्रति दातृ निकायको विश्वास बढेको र अनुदान बढ्दा नेपालप्रति दातृ निकायको विश्वास घटेको बुझ्नुपर्ने हुन्छ।

 

प्रकाशित: Dec 03, 2019| 12:43 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्