काठमाडौं - सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आएर मंगलबार ३.७५ अंकले उकालो लागेको छ। यसदिन जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी ६३.७९ अंकले उकालो लागेको छ भने निर्जिवन बीमा कम्पनी १९.६४ अंकले उकालो लागेको छ। यसदिन ट्रेडिङ, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक ओरालो लागेको छ।
त्यस्तै बैंकिङ, जलविद्युत, उत्पादनमूलक, लघुवित्त र म्यूचुअल फन्ड समूहको उपसूचक भने उकालो लागेको छ।
मंगलबार सूचक केही सुधार भएर १११५.७४ अंकमा रोकिएको छ भने कारोबार रकम २६ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।
यसदिन घोडाघोडी लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ। सबैभन्दा बढी घोडाघोडी लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै दिव्यश्वरी हाइड्रोपावर, हिमालय डिस्टीलरी लिमिटेड, मिथिला लघुवित्त वित्तिय संस्था लिमिटेड लगायतका कम्पनीको मूल्य बढेको छ। मंगलबार सबैभन्दा बढी करोबार सिद्धार्थ बैंक,एनएमबी बैंक लिमिटेड,नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको भएको छ।
त्यस्तैगरी मंगलबार सबैभन्दा बढी गुमाउनेहरुमा साल्ट ट्रेडिङ कम्पनी, गुँरास लघुवित्त वित्तिय संस्था, बेष्ट फाइनान्स कम्पनी, मुक्तिनाथ विकास बैंक लगायतका कम्पनी रहेका छन्।