केटाकेटीले केही बिगार गरे हप्काइन्छ। पिटिन्छ। उनीहरुको सातो जाने गरी तर्साइन्छ। तर आहुति सानो छँदा परिवारमा केटाकेटीलाई पिट्नु हुँदैन भन्ने मान्यता थियो।
बाल्यकालमा आहुति र उनका दाजु गल्ती गर्थे। अनि डराउँथे र लुक्न जान्थे। तर हजुरबाले कहिल्यै पिटेनन्। बरु नातिहरुले गल्ती गर्दा पनि उनी आफैं रुन्थे।
रुनुलाई कमजोरी पनि मानिएला तर हजुरबाले आफ्नो आँसु बगाएर नातिहरूलाई शीतल छहारी दिइरहे। त्यो रुवाइ उनको हतियारसरह थियो। के एउटा परिपक्व मान्छे आफ्ना साना नहुर्किएका नातिका अगाडि आँसु बगाएर रुन सक्छ? सक्छ भने त्यो महान् मान्छे हो, आहुतिका हजुरबाजस्तै।
अहिले आहुतिलाई लाग्छ पचास वर्ष पुग्दानपुग्दै विधुर भएर परिवारका लागि सारा जीवन समर्पण गरेका हजुरबाजस्तो हुन कत्ति गाह्रो रहेछ!
केटाकेटीलाई पिट्नु हुँदैन भन्ने परिवार त्यो बेलामा पाउन मुस्किलै थियो। कहिलेकाहीं बदमासी गर्दा आमाको आङपछाडि गएर लुक्थे। तर आहुतिले बाल्यकालमा घरका कुनै सदस्यबाट कहिल्यै कुटाइ खाएनन्। न त हप्कीदप्की नै खाए।
केटाकेटीलाई पिट्नु हुँदैन भन्ने परिवार त्यो बेलामा पाउन मुस्किलै थियो। कहिलेकाहीं बदमासी गर्दा आमाको आङपछाडि गएर लुक्थे। तर आहुतिले बाल्यकालमा घरका कुनै सदस्यबाट कहिल्यै कुटाइ खाएनन्। न त हप्कीदप्की नै खाए।
उनले बाल्यकालको एउटा घटना यस्तो छ–
एक दिन माइला दाइले घरबाट पैसा चोरेर हिँडे। साथमा आहुति र दाइका मिल्ने साथी पनि थिए।
त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रली बस भर्खर–भर्खर गुड्न थालेको थियो। काठमाडौंको पश्चिमी ढिस्को नैकापबाट सहर हेर्न हिँडेका तीन किशोर ट्रलीबस चढे। अन्य एक दुई ठाउँ पनि घुमे। घुम्दैफिर्दै साँझपख न्युरोड पीपलबोटको उत्तरतिर रहेको ‘रञ्जना सिनेमा हल’ पुगे। हलमा ‘डबल क्रस’ शीर्षकको फिल्मको ‘नाइट सो’ हेरे।
अहिले रातमा पनि घुइँचो न्युरोड त्यति बेला दिउँसै सुनसान हुन्थ्यो। रातिको समयमा न्युरोडदेखि नैकापको यात्रा सम्भव हुने कुरा भएन।
सुनसान सहरमा कहाँ जाने? न खल्तीमा पैसा बाँकी थियो। तर रात त काट्नैपर्यो। सो रात तीन केटाहरु गोरखनाथ मन्दिरको पाहुना भए।
‘रथ तान्ने प्रयोग हुने मोटामोटा डोरीको चाङमाथि सुतियो,’ ती दिन सम्झँदै उनले भने।
भोलिपल्ट घर जाने कुरा भयो। तर, सीधै घर जाने आँट आएन। पैसा चोर्ने दाइले उपाय सुझाए– सुरुमै घरमा नजाऔं। पहिला घर नजिकैको जंगलतिर बसौं। तीनजनाको टोली नैकाप सोझियो।
‘कसैले देखे डाँडातिर आएका रहेछन् भनिदिन्छन् भन्ने लागेर दाइले त्यहाँ लुकम् भनेका थिए,’ उनले भने।
नभन्दै, साँझ दिदी लिन आइन्। घर पुग्दा हजुरबा थिएनन्। पैसा चोरेर हिँडेका केटाहरुबारे हजुरबाको अर्कै चिन्ता थियो। उनलाई लाग्यो कतै केटाहरु मुग्लान् त भासिएनन्।
‘नातिहरु हराएपछि चिन्तित हजुरबा हामीलाई खोज्न वीरगन्जतिर जानुभएछ,’ आहुतिले भने, ‘हामीहरु भारततिर लाग्यौं कि भन्ने लागेर हराएकै साँझ हजुरबा वीरगन्ज जानुभएको रहेछ।’
भोलिपल्टै हजुरबा फर्किएर आए। हजुरबा घर आएको देखेर दाइ र उनी डरले थुरथुर भए। हजुरबाले कुट्लान कि भनेर नजिक पर्न सकेनन्।
बाल्यकालमै बुवा गुमाए आहुतिले। बुवाको अभाव हजुरबाले कहिल्यै हुन दिएनन्। परिवारको ठूलो सदस्य हजुरबा भएपछि परिवारका सबै सदस्यले मान्नुपर्ने व्यक्ति पनि हजुरबा नै थिए।
उनी भन्छन्, ‘घरमा कुनै पनि बच्चालाई पिट्न हँुदैन भन्ने थियो। हामीले काम बिगारेर रिस उठ्यो भने हजुरबा आफैं रुनुहुन्थ्यो।’
आहुतिको कलिलो मस्तिष्कमा कम्युनिस्टको प्रभाव पार्ने पनि उनै हजुरबा थिए। एक दिन माओत्से तुङको तस्बिर देखाएर उनका हजुरबाले भने, ‘यो मान्छे जन्मिनेबित्तिकै सात पाइला हिँडेको रे। यसले धनी–गरिब, जातपात मान्दैन रे। जातपात नै मेटाइदिने यो कम्युनिस्ट हो रे।’
जुन परिवारमा कम्युनिस्टको गहिरो प्रभाव थियो त्यो परिवारले बच्चालाई कहिल्यै कुटेको थाहा पाएनन्, आहुतिले। भन्छन्, ‘कम्युनिस्टको प्रभाव हजुरबाभित्र अलिअलि थियो। तर बच्चालाई कुट्ने कल्पनासमेत गरिन्थेन।’
०००
बाल्यकालमै बुवा गुमाए आहुतिले। बुवाको अभाव हजुरबाले कहिल्यै हुन दिएनन्। परिवारको ठूलो सदस्य हजुरबा भएपछि परिवारका सबै सदस्यले मान्नुपर्ने व्यक्ति पनि हजुरबा नै थिए।
तीस वर्षको उमेरमा आमा विधुवा हुनुभयो। तर आमा परिवारको मूली हुन सक्नुभएन। परिवारका बाँकी सदस्यमा दाजु र दिदी थिए। दाजुभाइमा उमेरले धेरै फरक परे पनि उनीहरुले सानैदेखि ‘तँ–तँ’ भने।
राजनीतिमा लागेपछि उनले दाइ र दिदीहरुलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न थाले। तर उनलाई नै त्यो सम्बोधन मन परेन। उनी भन्छन्, ‘हजुरबा हजुरआमालाई पनि तिमी भन्थ्यौं। श्रमिक वर्गकाले बोल्ने यस्तै हो।’
हजुरबाको छत्रछायामा हुर्किनु एउटा यात्रा हो। तर भौतिक रूपमा हजुरबाको हात समाएर डोरिँदैडोरिँदै हुर्किनु आफैंमा परिवर्तन हो। यस्ता यात्रा जो सम्झनामा बाँचिरहन्छन्।
‘परिवारमाथि किताब नै बन्थ्यो। लेख्ने समय मिलिरहेको छैन,’ लेखक आहुति भन्छन्।
२०३१ साल फागुन १२। काठमाडौंमा जाडो निख्रिएको थिएन। राजा वीरेन्द्रको राज्याभिषेकको कार्यक्रम थियो। राजाको सवारी हेर्न सारा जनता सहर पसेका थिए। आहुतिका हजुरबाले पनि भालेको पहिलो डाकमै परिवारका सबै सदस्यलाई उठाए। आँखा मिच्दै उठेका चिचिलाले सोधे, यति सबेरै कहाँ जाने हजुरबा? हजुरबाले भने, भद्रकाली।
बाल्यकालमा उनलाई हजुरबासँग लामो यात्रामा निस्किने अवसर जुरेन। तर छोटाछोटा यात्रा भने सम्झिन लायकका छन्। उनको परिवारले गरिरहने यात्रा भनेको नैकापदेखि भद्रकाली, असन, न्युरोडसम्मको हुन्थ्यो।
२०३१ साल फागुन १२। काठमाडौंमा जाडो निख्रिएको थिएन। राजा वीरेन्द्रको राज्याभिषेकको कार्यक्रम थियो। राजाको सवारी हेर्न सारा जनता सहर पसेका थिए। आहुतिका हजुरबाले पनि भालेको पहिलो डाकमै परिवारका सबै सदस्यलाई उठाए। आँखा मिच्दै उठेका चिचिलाले सोधे, यति सबेरै कहाँ जाने हजुरबा? हजुरबाले भने, भद्रकाली।
नैकापबाट पाँच किलोमिटर हिँडेर भद्रकाली आइपुगे उनीहरु। भद्रकालीमा मानिसको भीड थियो। सबैले राजाको जयजयकार गरे। उनी भन्छन्, ‘भाउजूबुहारीलाई समेत भद्रकाली ल्याउनुभएको थियो हजुरबाले।’
महिलालाई बाहिर निस्किनु हुन्न भन्ने समयमा सबै सदस्यलाई यसरी हिँडाउनु सानो चेतना होइन। ‘हजुरबाको चेतनाले त्यतिखेर लोकतान्त्रिक वातावरणचाहिँ बनाएको हो,’ उनले भने।
उनका हजुरबा फिल्मका सौखिन थिए। काठमाडौंमा केही फिल्म हल थिए। राम्रो फिल्म चल्यो भने परिवारै बोकेर सिनेमा हेर्न जान्थे। कहिलेकाहीं आफू घरमा बसेर भान्सामा लागेर बाँकी परिवारलाई फिल्म हेर्न पठाउँथे हजुरबा।
फिल्म हेरेर फर्किएपछि ‘राम्रो थियो फिल्म?’ सम्म सोध्थे। फिल्मको कथाका बारेमा हजुरबाले कहिल्यै सोधेको थाहा पाएनन् आहुतिले। भन्छन्, ‘फिल्मको कथा नसोध्नुको पनि कारण छ।’
हजुरबालाई पनि आहुतिका ‘बा’ बित्दा साह्रै पीडा भयो। बितेको छोरोको याद भुलाउन उनी फिल्म हेर्न गए। छोरो मरेको पीडा भुल्न फिल्म हेर्न गएका हजुरबाले फिल्ममा पनि छोरो मरेको दृश्य देख्दा उनको मनमा थप चोट पर्यो।
उनी भन्छन्, ‘त्यसो हुँदा हजुरबाले कहिल्यै फिल्मको कथाबारे सोध्नुभएन।’
सानैदेखि हेर्दै आएको हिन्दी सिनेमाका कथा भने उनका मनमा गडेका थिए।। यही सिकाइबाट उनले साथीहरुसँग मिलेर नाटक लेखे। कक्षा ६ मा पढ्दा–पढ्दै डबलीमा नाटक पनि अभिनय गरे।
२०२४ सालमा जन्मिएका आहुति जेहेन्दार थिए, पारिवारिक काम पनि सघाउँथे। त्यतिबेला उपत्यकामा कपडा बुन्ने चलन थियो। काठेतानमा बुनेको कपडा राम्रै बिक्री हुन्थ्यो। कक्षा ६ पढ्न थालेपछि ऊनीको कपडा बुनेर परिवारलाई सघाए।
हङकङको भनेर बेचिने जुत्ता उत्पादकमा आहुतिका हजुरबा पनि थिए। हजुरबाले हङकङको सामान पाइने बजारका साहुलाई उधारोमा जुत्ता बेच्थे। व्यापारीले भने नगदमा बेच्थ्यो।
०००
तीसको दशकमा रेडियो हुनेखानेका घरमा मात्र हुन्थे। गरिखानेको घरमा रेडियो हुनु ठुलै कुरा हुन्थ्यो। बाल्यकालमा हजुरबाले जोडेको रेडियोको एउटा घतलाग्दो किस्सा छ–
राजा महेन्द्रले हङकङ व्यापारका लागि मनाङका पाँच गाविसलाई विशेषाधिकार दिए। त्यसपछि हङकङका सामान काठमाडौंमा देखिन थाले। पसल च्याउसरी उम्रिए। जमलबाट असन निस्कने कमलाक्षीका सडकमा ती नयाँ मालका पसल झकिझकाउ हुन थाले। हङकङबाट आएका जुत्ता, क्यासेट, रेडियोदेखि सबै सामान हुन्थे त्यहाँ।
हङकङको भनेर बेचिने जुत्ता उत्पादकमा आहुतिका हजुरबा पनि थिए। हजुरबाले हङकङको सामान पाइने बजारका साहुलाई उधारोमा जुत्ता बेच्थे। व्यापारीले भने नगदमा बेच्थ्यो।
अनि बेचेको मालको पैसा दिनु साटो नबिकेको सामान दिएर हिसाब मिलाउँथे। त्यसरी श्रमिक वर्गबाट सामान लिने तर पैसा नतिर्ने काठमाडौंका साहुहरूको नालीबेली खोतल्दै जाने हो भने वर्गसंघर्षको नयाँ इतिहास नै उधिन्न सकिन्छ होला। आखिर ‘पैसाको मुख रातो’ भन्ने उखान त्यसै बनेको त होइन होला। आफूले बेचेको जुत्ताको पैसाका लागि धेरै दिन धाउँदा आखिर उनका हजुरबाले एक दिन त्यसको असुल उपर गरे। नगदमा होइन जिन्सीमा।
हजुरबाले जुत्ताको बदला रेडियो पाए। धेरै दिनदेखि नबिकेको एउटा रेडियो रहेछ साहुको पसलमा। ‘रेडियो घरमा आएकै वर्ष मैले विश्वकप फुटबल सुन्न पाएँ,’ उनले सुनाए।
ती दिन सुनेर थाहा पाउने र रमाउने दिन थिए। ‘त्यतिखेर च्याम्पियन पाउलोको चर्चा खुब थियो,’ उनले भने।
हजुरबाले रेडियो ल्याएको वर्ष थियो– सन् १९८२। त्यो वर्ष विश्वकप फुटबल आयोजना स्पेनमा भएको थियो। इटलीका खेलाडी पाउलो रोसी चर्चामा थिए। फाइनलको दिन त आहुतिले रेडियोमै कान जोडे।
‘त्यो बेला म राम्रो हिन्दी बुझ्दैनथें तैपनि नछुटाइ सुन्थें,’ उनले भने, ‘त्यतिबेलाको रेडियो म्यागेजिन ‘आँखो देखा हाल’ मा विश्वकपबारे विस्तृतमा समाचार आउँथ्यो।’
नेपाली साहित्य र राजनीतिमा सक्रिय आहुति हजुरबाको त्यागको प्रशंसा गरेर थाक्दैनन्।
पचास वर्ष नपुग्दै विधुर भएका हजुरबाले चाहेको भए अर्को बिहे गर्न सक्थे। हजुरबाले परिवारका लागि त्याग गरेको उनको ठम्याइ छ।
‘हजुरबाको त्याग थियो त्यो,’ भन्छन्, ‘श्रमिक वर्गले आफ्नो आकांक्षा, रहरलाई मारेर हिँड्यो भने मात्रै परिवार स्वतन्त्र हुन सक्छ।’
परिवारमा स्वतन्त्र भएर हुर्किएका आहुति परम्परागत छोराको भूमिकामा भने आफू खरो उत्रन नसकेको तर्क गर्छन्। भन्छन्, ‘परिवारमा मैले धेरै गरेको छु जस्तो लाग्दैन।’
परम्परागत छोराले आमाबालाई हेर्नुपर्छ। कमाउनुपर्छ। सम्पत्ति जोड्नुपर्छ। घरको उचित व्यवस्थापन गर्नुपर्छ। तर आहुतिको जीवनमा त्यस्तो भएन।
स्कुल पढुन्जेलसम्म नैकाप बसे। त्यसपछि सहर झरे। उनी गाउँ फर्केनन्। गाउँमा गएर सम्पत्तिका लागि कहिल्यै कलह गरेनन्। उनी भन्छन्, ‘हुन सक्छ मेरो कारणले परिवारमा कसै न कसैलाई दुःख त मिल्यो होला। किनकि म कमाउनतिर लागिनँ। तर मैले दुःखचाहिँ दिएको छैन।’
नेपाली समाजमा कमाउनु आफू बाँच्नु मात्रै होइन। परिवारको जिम्मेवारी पूरा गर्नु पनि हो। दुःखजिलो पर्दा पैसाको जोहो गर्न सक्नु हो। तर नेपाली समाजमा छोराले कमाएन भने बाँकी सदस्यले दुःख पाएजस्तो देखिँदोरहेछ। अथवा छोरोले नै दुःख दिएजस्तो देखिँदोरहेछ। आहुति भन्छन्, ‘मैले परिवारलाई कमाएर दिन सकिनँ।’
जीवनमा पैसा कमाएर परिवारलाई दिनु मात्र जिम्मेवारी हो? समाजले यसले त यति कमायो भनेर भौतिक प्रगति देखाउन सक्नु मात्र उपलब्धि हो? हो भने आहुतिले केही कमाएका छैनन्।
आहुति आफूले परिवारमाथि कहिल्यै बेइमानी नगरेको बताउँछन्। ‘मैले जानिबुझीकन सचेत भई आफूले स्वीकार गरेको परिवारमाथि चाहिँ बेइमानी गरेको छैन,’ उनी भन्छन्।
‘मेरो परिवारको कसैसँग झगडा भएको छैन। कसैको पनि कसैसँग देखिने गरी कहिल्यै भनाभन भएको छैन,’ उनी भन्छन्।’
आहुति आफूले परिवारमाथि कहिल्यै बेइमानी नगरेको बताउँछन्। ‘मैले जानिबुझीकन सचेत भई आफूले स्वीकार गरेको परिवारमाथि चाहिँ बेइमानी गरेको छैन,’ उनी भन्छन्।
२०४८ मा परम्परागत रूपमा बिहे भयो उनको। तर सो वैवाहिक सम्बन्ध दीर्घकालसम्म लम्बिएन। त्यसलाई आफ्नै कमजोरी ठान्छन् उनी। भन्छन्, ‘त्यो कमजोरी मैले नै लिनुपर्छ।’
सम्बन्ध टिकाइराख्न दुवैको भावना मिल्न जरुरी छ। उनी भन्छन्, ‘त्यसलाई मैले नै व्यवस्थित गर्न सकिनँ। त्यो सम्बन्ध अन्त्य बढी दोष मेरै छ।’
मुख्य जिम्मेवारी आफूले लिँदै कमजोर पक्ष आफ्नो भागमा परेको लाग्छ उनलाई। ‘मैले श्रीमान्को भूमिका ठिक ढंगले निर्वाह गर्न सकिनँ कि भन्ने लाग्छ,’ उनी भन्छन्।
पहिलो विवाहबाट एक छोरी छिन्। बाबुआमाबीच सम्बन्धविच्छेद हुँदा छोरी आठ वर्षकी थिइन्। हजुरआमा र फुपूको काखमा हुर्किन् उनी।
जीवन यात्राले उनलाई दोस्रो विवाहको द्वारमा पुर्यायो। आहुतिको दोस्रो विवाह भयो ललितपुरकी बुद्धलक्ष्मी महर्जनसँग। ‘अहिलेको सम्बन्धमा म सचेत छु,’ उनी भन्छन्।
अर्को विवाह गरेर पारिवारिक जिम्मेवारी उठाए उनले। ‘मानिस सामाजिक प्राणी हो’, भन्छन्, ‘सामाजिक जीवन बाँचियो भने मात्रै परिवार र समाजसम्म परिवर्तन गर्न सकिन्छ।’
आहुतिको जीवनको अनेक आरोहअवरोह चलिरह्यो। राजनीतिक यात्रा जारी राखे। कलम निरन्तर चलाइरहे। दलनविरुद्धको राष्ट्रिय आवाज भएका छन्, आहुति। उनी देखेको, भोगेको उत्पीडन बोल्न डराउँदैनन्।
०००
उनको परिवारको संरचना मिश्रित छ। संयुक्त परिवार जस्तो पनि, एकल परिवार जस्तो पनि। सहरमा दुई छोरी र श्रीमती छन्। नैकापको डाँडामा आमा र दिदी छन्।
सामान्यतः नेपाली समाजको मध्यम वर्गको तल्लो हिस्साको जीवनचर्यामा आफ्नो परिवार चलिरहेको ठान्छन् उनी। सरकारी अस्पतालमा उपचार गर्न सक्ने, खानापिन चल्ने, सन्तानलाई स्कुल–क्याम्पस पढाउन सक्ने खालको परिवार मान्छन् आफ्नो। भन्छन्, ‘अभाव पूरा गर्न कुद्नुपरेको छैन। ’
आमा र दिदीलाई भेट्न कहिलेकाहीँ नैकाप उक्लिन्छन् उनी। आखिर आफू जन्मेहुर्केको घरआँगनले कसलाई पो तान्दैन र? उनी घर पुग्दा आमालाई देखाउने उनको माया औपचारिक खालको हँुदैन। ‘फिल्मजस्तो छैन हाम्रो परिवार। अति सामान्य व्यवहार हुन्छ,’ उनी भन्छन्।
वर्गीय शक्तिको अधिकतासँगै ढोंग पनि चुलिँदै जाने उनी ठान्छन्। पारिवारिक सदस्य भेट्दा आशीर्वाद दिएजस्तो गर्ने, गला मिलाउने गरिन्छ। उनको परिवारमा त्यस्तो कहिल्यै भएन।
‘हामी मध्यम वर्गीय परिवार हौं। मध्यम वर्गले माया देखाउने हो। नेपालको श्रमिक वर्गमा त्यस किसिमको ढोंगको के अर्थ?’ उनी भन्छन्, ‘श्रमिक वर्गमा औपचारिकता हुँदैन। दुःखसुखका कुरा हुन्छन्। के भइरहेको छ। परिवारमा के खड्किएको छ त्यही कुरा भन्नेसुनाउने हो। त्यो नै माया प्रकट गर्ने तरिका हो।’
अहिले बनेको परिवारमा पनि उनी हजुरबाकै जस्तो लोकतान्त्रिक व्यवहारलाई कायम गर्न हरदम प्रयासरत छन्। सन्तानमाथि कुनै दबाब लादेका छैनन्। यस्तो गर्नुपर्छ, उस्तो खानुपर्छ, यस्तरी हिँड्नुपर्छ, एक्लै हिँड्नु हुँदैन, राति अबेरसम्म बाहिर बस्नु हुँदैन जस्ता आम उर्दी उनी फरमान गर्दैनन्।
‘बालबालिकालाई अनुशासनका नाममा अनावश्यक दबाब दिन्नँ,’ उनी भन्छन्, ‘उनीहरुको चेतनास्तरको ज्ञानबाट सिक्दै जानुपर्छ। र एक दिन आफैं बुझ्ने हुन्छन्।’
टाढाबाट घर आउँदा उनी केही चिज बोकेर ल्याउँदैनन्। न त सन्तानले बुवाले के ल्याइदिनुभयो भनेर झोला खोतल्न झुम्मिन्छन्। ‘त्यस्तै परिवारमा हुर्काइ भयो,’ उनी भन्छन्।
वर्गीय शक्तिको अधिकतासँगै ढोंग पनि चुलिँदै जाने उनी ठान्छन्। पारिवारिक सदस्य भेट्दा आशीर्वाद दिएजस्तो गर्ने, गला मिलाउने गरिन्छ। उनको परिवारमा त्यस्तो कहिल्यै भएन।
दुई सन्तानको धेरै जन्मदिन मनाएका छन् उनले। तर तिनले कहिल्यै उनीसँग केक किनिदिनु भनेनन्। न उनले कहिल्यै केक नै काटेर जन्मदिन मनाए।
अहिले उनको ठूलो सन्तान डाक्टर पढ्दैछन्। दोस्रो भने १२ कक्षामा पढ्दैछिन्। कान्छी छोरी ३ कक्षामा पढ्दैछिन्। ‘अहिले पनि सानी छोरीसँग खेल्दा उसले लात्तैैलात्ताले हान्छिन्,’ उनी भन्छन्, ‘त्यो समानता हो। सिकाइएको हो। लड्न सक्नुपर्छ भन्ने हो।’
खासमा परिवार नै नचाहने मान्छे हुन् आहुति। नचाहनु र नहुनु दुई बेग्लै कुरा हुन्। के चाहेको कुरा सबै पुग्छ र? परिवार नचाहनुको उनको कारण पनि बेग्लै छ।
भन्छन्– परिवार संस्था हो, जहाँ राजनीति हुन्छ। अथवा निर्णय गर्ने अधिकार निश्चित व्यक्तिमा हुन्छ। त्यसको आफ्नै संस्कृति पनि हुन्छ। एकअर्काको सम्बन्धको सेतु पनि हुन्छन्।
यायावरझैं हिँड्न चाहनेलाई परिवार बन्धनजस्तो पनि लाग्दो हो। आहुति भन्छन्, ‘आर्थिक आधारमै परिवार टिक्ने भएकाले सबैभन्दा बढी कलह पनि परिवारमै हुन्छ।’
आर्थिक आधारमा निजी सम्पत्ति जोडिएको हुन्छ। त्यो निजी सम्पत्तिमा सबै बाँच्नुपर्ने हुन्छ। जब अभाव हुन्छ अनि कलह निम्तिन्छ। तर, आर्थिक, राजनीतिक सम्बन्धका कारण बिनापरिवार रहन नसकिने स्वीकारोक्ति पनि छ उनको।
उनी भन्छन्, ‘परिवर्तनका निम्ति, उत्पीडित वर्ग समुदायका निम्ति, राजनीतिक अभियान, सांस्कृतिक अभियान, सबै अभियानको एउटा मुख्य हिस्सा हामी पनि बन्नुपर्छ भन्ने भए सबै परिवार सुखी हुन्छ। र, त्यो परिवार सार्थक पनि हुन्छ।’