काठमाडौं– केही समययता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट शृखंलावद्ध आक्रमण तथा आगजनी भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारण सहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने तथा भौतिक पूर्वाधारका कार्यहरु समयमा हुन नसकी राज्यले लिएको लक्ष्यसमेत पूरा हुन नसक्ने महासंघको भनाइ छ।
यसैबीच राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा शनिबार राति अज्ञात समूहद्घारा ग्यारेजभित्रै आगजनी गरिएको महासंघले जनाएको छ।
दिक्तेलको दोर्पामा ३ थान तथा भोजपुरको नौलेगाउँमा एक थान एक्साभेटरमा आगजनी गरिएको र आगजनीबाट करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको महासंघको विज्ञप्तिमा उल्लेख छ। साथै फेवा कन्स्ट्रक्सनले काम गरिरहेको बागलुङ नगरपालिका, पञ्चकोटको सडक निर्माणको कार्यमा प्रयोग गरिएको पहारी कन्स्ट्रक्सनको १ थान रोलरमा समेत अज्ञात समूहद्घारा आगजानी गरिएको महासंघले जनाएको छ।
व्यवसायी र उनीहरुको उपकरणको सुरक्षालाई लिएर सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराउँदा समेत यस्ता घटना दोहोरिनु चिन्ताको विषय भएको विज्ञप्तिमा जनाइएको छ । “विविध चुनौतीका बाबजुद निर्माण कार्यमा अहोरात्र खटिने व्यवसायीहरुलाई पेशाबाट नै पलायन गर्ने गरी भएको यस आततायी घटनाको महासंघ कडा शब्दमा निन्दा गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
महासंघले विज्ञप्तिमार्फत् घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न गृह प्रशासनसमक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ। साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि महासंघले आग्रह गरेको छ। पेशागत सुरक्षाका लागि देशभरको निर्माण कार्य ठप्प पार्दै सशक्त आन्दोलनमा उत्रने चेतावनी पनि महासंघले दिएको छ।