काठमाडौं- सहिद स्मारक सी डिभिजन लिग छनौट खेलका लागि छानिएको एमयुएफसी विजयचोक युवा क्लब र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच साझेदारी हुने भएको छ। क्लबको 'इन्स्योरेन्स पार्टनर'मा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड रहने गरी साझेदारी घोषणा भएको हो।
साझेदारीका लागि भएको सम्झौतामा क्लबका तर्फबाट प्रकाश थापा मगर र सगरमाथाकी विज्ञा कार्कीले हस्ताक्षर गरेका छन्।विगत पच्चीस वर्षदेखि बिमा सेवा प्रदान गर्दै आएको कम्पनीसँग साझेदारी गर्न पाउँदा आफूहरू उत्साहित भएको क्लबका थापाले बताए।
'खेल र चोटपटक एउटै सिक्का को दुई पाटा हुन्, मैदानमा उत्रिसकेपछि जुनसुकै खेलाडीलाई सानोठुलो चोटपटक लाग्न सक्छ,' क्लबका प्रबन्धक विवेक थापा भन्छन्, 'सगरमाथा इन्स्योरेन्ससँगको साझेदारीले खेलाडीमा बोझ कम भएको छ। उनीहरुको आत्मविश्वास पनि बढाएको छ। सम्पूर्ण टिम कम्पनीको बिमा योजनाप्रति आभारी छ।'
सगरमाथाकी कार्कीले पनि उदीयमान क्लबहरूसँगको सहकार्य गर्न पाउँदा कम्पनी उत्साहित भएको प्रतिक्रया दिएकी छन्।
एमयुएफसी क्लब म्यान्चेस्टर युनाइटेड फुटबल क्लबका समर्थकहरूको क्लब हो। यो टिम सी डिभिजन छनौटको समूह 'एल'मा रहेको छ। प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा जनाउने भएका छन्।