काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले संसारका कुनै पनि देशमा पुनकर्जा दिने प्रावधान नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल भने कम विकसित देश भएकोले व्यापार व्यवसाय प्रवर्द्धनका लागि पुनर्कजाको व्यवस्था गरिएको बताए।
उनले भने, “नेपाल राष्ट्र बैंकले व्यापार–व्यवसाय गर्नेका लागि ३ प्रतिशत र निर्यातको लागि १ प्रतिशत ब्याजदरमा पुनकर्जा दिइरहेको छ। यो एक प्रकारको वाणिज्य बैंकहरुले गर्ने काम हो। तर हामीजस्तो कम विकसित देशले यस्तो व्यवस्था गर्नुपर्छ।”
उनले बैंकहरुले जनताको पैसा चलाइरहेको हुँदा नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले बैंकको कार्यकारी प्रमुख र अध्यक्षको बारेमा पूर्ण जानकारी पाउनुपर्छ भनेर अहिलेको बाफियामा गभर्नरले बैंकको अध्यक्षको सपथ खुवाउने र बैंकको अध्यक्ष राष्ट्र बैंकको अनुमतिमा मात्र राख्ने व्यवस्था गरेको बताए।
गभर्नर नेपालले ब्याजदर कम हुँदा जनतामा समस्या र बढी हुँदा ऋणीलाई समस्या हुने भएकोले त्यसलाई राष्ट्र बैंकले सन्तुलनमा राख्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिलेसम्म नेपालमा सम्पत्ति अभिलेखीकरण नभएको हुँदा एक पटक सम्पत्तिको अभिलेखीकरण गरेर मात्र सम्पत्ति शुद्धीकरण ऐन कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, “एक्कासी सम्पत्ति शुद्धीकरणको ऐन लागू हँुदा केही ठूला लगानीकर्ताहरु लगानीका लागि डराइरहेका छन् र त्यसले अन्ततः देशको अर्थतन्त्रमा नकारात्मक असर पर्छ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले विदेशी लगानीको लागि नेपालमा सबैभन्दा ठूलो समस्या भनेको मुद्राको अस्थिरता रहेकोले यसको उचित व्यवस्था भए लगानीकर्ताहरु नेपालमा लगानी गर्न आउने धारणा राखे।
कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशित गर्ने आर्थिक जर्नल ‘अर्थनीति’ को विमोचन गरिएको थियो।