बिहीबार, चैत १२, २०८२

आर्थिक वर्ष सुरु भएको साढे ४ महिनापछि त्रिविको बजेट पारित

त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार रुपैयाँ बजेट पारित गरेको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ का लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार रुपैयाँ बजेट पारित गरेको छ। आर्थिक वर्ष सुरु भएको साढे ४ महिनापछि शुक्रबार त्रिवि सभाले उक्त बजेट स्वीकृत गरेको हो।

नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ। जसमा पुँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ।

National life

यसमध्ये विश्वविद्यालय अनुदान आयोगबाट १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख छ।

त्रिविमा शिक्षणतर्फको वार्षिक तलबमा हुने खर्च ५ अर्ब ४० करोड ५६ लाख ३७ हजार र प्रशासनीक कर्मचारीको तलबमा हुने खर्च ४ अर्ब १२ करोड ३६ लाख ६७ हजार अनुमान गरिएको छ। त्रिविमा हाल शिक्षण कर्मचारीतर्फ ७ हजार ९ सय ३८ र प्रशासनीक एवं प्राविधिक कर्मचारीतर्फ ८ हजार १ सय २४ कर्मचारी कार्यरत छन्।

यसैगरी त्रिविले अनुसन्धान तथा विकास खर्च शीर्षकमा १५ करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने विद्यार्थी कल्याण खर्च शीर्षकमा १० करोड ९ लाख ९० हजार रकम विनियोजन गरेको छ।

यसै बजेटको परिधिभित्र रहेर त्रिविले यस वर्ष स्ववियू निर्वाचनसमेत गर्नुपर्नेछ। यसैगरी छात्रवृत्ति शीर्षकमा ३ करोड ७१ लाख ४६ हजार विनियोजन गरिएको छ भने परीक्षा सञ्चालन खर्च ८२ करोड ३१ लाख १० हजार विनियोजन भएको छ।

Laxmi sunrise bank
kumari

त्रिवि सभालाई सम्बोधन गर्दै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्रि गिरिराजमणि पोखरेलले विश्वविद्यालयका उपलब्धि, समस्या र समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने बताए। त्रिविको भिजन २०२०–२०३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने उनको भनाइ थियो।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गदै १५ बुँदे कार्ययोजनासहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Nov 30, 2019| 12:47 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्