काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ ।
बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।
लण्डनमा आयोजित एक समारोहमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंक अफ दि एयर, २०१९ को सम्मान ग्रहण गरे । दि बैंकरले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरुमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको बताए ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको भन्दै आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गरे ।