शुक्रबार, असार ६, २०८२

‘कौन बनेगा करोडपति’ मा अन्तिम पटक आउँदै अमिताभ

भारतीय चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औं शृंखलाको अन्तिम कार्यक्रम आज शुक्रबार प्रसारण हुँदैछ ।
 |  शुक्रबार, मंसिर १३, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

vianetvianet

काठमाडौं- भारतीय चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औं शृंखलाको अन्तिम कार्यक्रम आज शुक्रबार प्रसारण हुँदैछ ।

'शो'का होस्ट अमिताभ बच्चनले यसअघि नै आफ्नो ब्लगबाट आफू रिटायर हुने इच्छा व्यक्त गरेका कारण पनि यो शृंखला उनका प्रशंसकहरुका लागि विशेष हुनेछ ।

७७ वर्षीय अमिताभ बच्चनले आफ्नो स्वास्थ्यका कारण विश्राम लिने इच्छा व्यक्त गरेपछि भारतीय सञ्चारमाध्यमहरुमा अब यो नै बच्चनको अन्तिम ‘कौन बनेगा करोडपति’ शृंखला हुने उल्लेख गरेका छन् ।

आजको कार्यक्रममा सीमान्तकृत वर्गका लागि काम गर्ने एनजीओ इन्फोसिसकी प्रमुख सुधा मूर्ति विशेष अतिथि ‘कर्मवीर’ का रुपमा आउँदैछिन् ।

उक्त शृंखलाको ट्रेलरमा बच्चनले सुधा मूर्तिको खुट्टा छोएर सम्मान गरेको देखाइएपछि यो एपिसोडप्रति दर्शको उत्सुकता झन् बढेको छ ।

पहिलो पटक चार करोडपति

११ औं शृंखलामा अहिलेसम्म चार जनाले भारु १ करोड जितिसकेका छन् । यो सिजनमा समाजमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई प्रत्येक साता कर्मवारीका नाममा बोलाएर विशेष सम्मान गरिएको छ ।

सन् २००० मा ‘कौन बनेगा करोडपति’ शुरु हुनु भारतीय टेलिभिजन इतिहासकै ठूलो घटना थियो । सामान्य ज्ञानका प्रश्नोत्तरको यो कार्यक्रमले टेलिभिजनलाई आम जनतासम्म पुर्‍याउन ठूलो सहयोग गर्‍यो ।

सन् १९९० को दशकमा भारतीय टेलिभिजन च्यानलहरुबीच ‘टीआरपी स्टाट्स’ का लागि प्रतिस्पर्धा चरममा पुगेको थियो । त्यसैबेला निजी मिडिया समूह स्टार नेटवर्कले बेलायत र अष्ट्रेलियामा सफलतापूर्वक प्रशारण भइरहेको ‘हु वान्ट्स टू बी अ मिलिनायर’ को हिन्दी संस्करण सुरु गर्न चाह्यो ।

यसको उत्पादक बेलायती कम्पनी सेलाडोरबाट एसियन राइट्स किनेर क्वीज मास्टर सिद्धार्थ बसुलाई यसको जिम्मेवारी दिइयो । हिन्दी र अंग्रेजी दुबै भाषामा विशेष दख्खल राख्ने भारतीय सुपरस्टार अमिताभ बच्चनलाई ‘कौन बनेगा करोडपति’ को होस्ट बनाउने प्रस्ताव बसुकै थियो ।

त्यस समय बच्चनका फिल्महरु फ्लप भइरहेका थिए र उनी त्यसबेलासम्म टेलिभिजनमा आएका थिएनन् ।

आम मानिसको सपना

बेलायतमा यस शोको परिकल्पना आम मानिसका सपनालाई ध्यानमा राखेर गरिएको थियो।

१५ वटा प्रश्नको जवाफ दिएर कुनै सामान्य मानिसले एक घण्टाभित्र ७ करोडसम्म कमाउन सक्ने यो कार्यक्रमले आम मानिसको ध्यान ह्वात्तै तान्यो । प्रत्येक मानिसले आफूलाई ‘हट सिट’ मा बसेको सपना देखोस र त्यसका लागि प्रयत्न गरोस भन्ने शोको थिम सफल रह्यो ।

यद्यपि, कार्यक्रमलाई सफल बनाउनमा अमिताभ बच्चनको पनि ठूलो योगदान रह्यो । अमिताभ बच्चनको बोल्ने तरिका मात्र होइन, उनले प्रत्येक आम मानिससँग गर्ने कुराकानी र, कार्यक्रमलाई रोचक बनाउन गर्ने प्रयत्नले पनि दर्शकहरुको मन जित्न सफल रह्यो ।

यसका केही शृंखला शाहरुख खान र अनिल कपुरले सञ्चालन गरे पनि अमिताभ बच्चनले सञ्चालन गरेजस्तो सफल हुन सकेका थिएनन् ।

 

प्रकाशित: Nov 29, 2019| 08:29 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्