काठमाडौं– अर्थमन्त्री डा। युवराज खतिवडाले निर्माण व्यवसायीहरुको रकम भुक्तानीका लागि पहल गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आज नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खतिवडाले रकम भुक्तानीका लागि सहयोग गर्ने बताएका हुन् ।
व्यवसायीहरुको ठूलो रकम भुक्तान नुहँदा देशको समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परेको महासंघले जनाएको छ । अर्थमन्त्री खतिवडाले व्यवसायी मैत्री ऐन नियम तर्जुमा गर्नका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी गराउँदै त्यसमा व्यवसायीलाई पनि संलग्न गराइने बताए ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले म्याद थप, बैंक क्रेडिट लाइन लगायतका विषयमा पनि अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको छ । महासंघले मंसिर ४ गते सम्पन्न राष्ट्रिय भेलाले गरेका निर्णयका बारेमा पनि अर्थमन्त्रीलाई अवगत गराएको छ ।
राष्ट्रिय भेलाको निर्णय अनुसार २ करोडको सट्टा ५ करोडसम्मको निर्माण कार्य खरिदमा कुनैपनि योग्यता नराखी जुनसुकै निर्माण व्यवसायीले भाग लिन पाउने व्यवस्थाका लागि महासंघले माग गरेको छ ।