बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

उपनिर्वाचन : कर्णालीमा कमाण्डरकै प्रतिष्ठाको लडाइँ

चुनावी प्रचारप्रसारमा उम्मेदवारसँग स्थानीय, जिल्ला र केन्द्रीय नेताहरु समेत केन्द्रित भएका छन् ।
 |  मंगलबार, मंसिर १०, २०७६
nespernesper

देव राना

देव राना

मंगलबार, मंसिर १०, २०७६

सुर्खेत । उपनिर्वाचन नजिकिँदै गर्दा कर्णालीमा राजनीति तातेको छ । उपनिर्वाचन हुन लागेको हुम्लाको खार्पुनाथ गाउँपालिका र सल्यानको कुमाख गाउँगालिका–५ मा उम्मेदवारहरु तीव्र रुपमा प्रचारप्रसारमा जुटेका छन् । भोलि (बुधबार) राति १२ बजे मौन अवधि सुरु हुनुअघि घरदैलो अभियान सकेर मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु दौडधुपमा लागेका हुन् ।

triton college

चुनावी प्रचारप्रसारमा उम्मेदवारसँग स्थानीय, जिल्ला र केन्द्रीय नेताहरु समेत केन्द्रित भएका छन् । हुम्लामा नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई चुनावी कमाण्डर बनाएको छ । गएको दसैंदेखि नै उनी चुनावी अभियानमा छन् । उपचुनाव उनका लागि प्रतिष्ठासँग जोडिएको छ ।

यसका केही कारण छन् । पहिलो त, शाही उपचुनाव हुन लागेको खार्पुनाथ गाउँपालिकाकै मतदाता हुन् । दोस्रो खार्पुनाथमा कांग्रेसले गड जोगाइराख्ने चुनौती छ उनलाई । यो पालिकालाई विगतदेखि नै कांग्रेसले आफ्नो पकडको क्षेत्र मान्दै आएको छ । खार्पुनाथकै भरमा शाहीले हरेक चुनाव आफ्नो पक्षमा पार्दै आएका छन् । तेस्रो कारण पार्टीमा शाहीलाई आफ्नो उचाइ बचाइराख्नु पनि छ ।

प्रदेशसभामा प्रतिपक्षी दलका नेतासमेत रहेका शाही पार्टीभित्र प्रभावशाली नेतामा गनिन्छन् । २०७४ को प्रदेश र संघको चुनावमा पार्टीले अप्रत्याशित हार व्यहोर्दा शाहीले भने विजय हासिल गरेका थिए । पूर्वमन्त्री समेत रहेका उनले प्रत्येक्षतर्फ चुनाव जितेर कर्णालीमा कांग्रेसको बिउ जोगाए । जसका कारण पार्टीभित्र युवा नेताका रुपमा उनको लोकप्रियता बढ्यो । यही कारण चुनावमा उम्मेदवासँगै शाहीको प्रतिष्ठा पनि जोडिएको छ ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीले कांग्रेसबाटै चुनाव जितेकी थिइन् । गत जेठ ३ गते सिमकोटबाट गाउँपालिकाको केन्द्र जानेक्रममा जिप कर्णालीमा खस्दा शाहीको निधन भएपछि उपचुनाव हुन लागेको हो । कांग्रेसका उम्मेदवारप्रति मतदाताको सहानुभूति पनि रहने शाहीको अपेक्षा छ ।

Metro Mart
vianet

केन्द्रदेखि प्रदेशसम्म नेकपाको दुई तिहार सरकार हुँदा पनि लोकप्रिय काम गर्न नसकेको विषयलाई समेत कांग्रेसले चुनावी मसला बनाएको छ । खार्पुनाथमा कांग्रेसले पुराना नेता तारा शाहीलाई उम्मेदवार बनाएको छ । तर पूर्व माओवादी र एमालेको पार्टी एकीकरणपछि कांग्रेसलाई आफ्नो दबदबा कायम राख्न ठूलो चुनौती छ ।

‘विगतदेखि नै यो क्षेत्रमा जनलहर छ, अहिले पनि हामीले बलियो उम्मेदवार उठाएका छौं,’ हुम्लाका कांग्रेस जिल्ला सभापति जयपति रोकाय भन्छन्, ‘पूर्वमाओवादी र एमाले एक भए पनि हामीलाई कुनै असर पर्दैन । चुनावी परिणाम हाम्रै पक्षमा आउँछ ।’ नेकपाका तीनवटै तहका सरकारले जनताको मन जित्नेगरी काम गर्न नसकेको भन्दै खार्पुनाथवासीले नेकपाका उम्मेदवारलाई मत नदिने उनको तर्क छ ।

यता नेकपाले पनि खार्पुनाथको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । विगतदेखि नै कांग्रेसको कब्जामा रहेको खार्पुनाथलाई भत्काउने पक्षमा नेकपा लागेको छ । नेकपाले सो क्षेत्रमा कांग्रेसको किल्ला भत्काउन पार्टीका प्रदेश अध्यक्ष ... बोगटीको कमाण्डमा जिल्ला भरका नेता–कार्यकर्तालाई चुनावमा खटाएको छ । प्रदेश अध्यक्ष बोगटीले कार्यकर्तालाई चुनावमा खटिन सार्वजनिक अपिलसमेत गरेका छन् ।

त्यस्तै प्रदेशका बहालवाला सामाजिक विकास मन्त्री दल रावलको गृह जिल्ला भएका कारण पनि नेकपाले खार्पुनाथमा जुनाव जित्नैपर्ने दबाब छ । ‘पार्टी एक भएपछि मतदाता स्वतः नेकपाको पक्षमा छन्,’ प्रदेश अध्यक्ष बोगटी भन्छन्, ‘अहिले हरेक क्षेत्रमा नेकपाप्रति जनताको विश्वास छ । सबै कार्यकर्ताहरु चुनावमा खटिएका छन् । नतिजा हाम्रो पक्षमा आउँछ ।’ खार्पुनाथमा तीन हजार एक सय ८७ जना मतदाता रहेका छन् ।

गाउँपालिकाको वडा १ मा आठ सय ८९, २ मा चार सय ८०, ३ मा तीन सय २३, ४ मा ६ सय ४२ र ५ मा आठ सय ५३ जना मतदाता छन् । खार्पुनाथमा उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट तारा शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दिपबहादुर शाही चुनावी मैदानमा छन् । यद्यपि कांग्रेस र नेकपाका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।

उता, सल्यानको कुमाख गाउँगालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनलाई पनि नेकपा र कांग्रेसले प्रतिष्ठासँग जोडेका छन् । द्वन्दकालिन समयमा तत्कालिन माओवादीको अखडा मानिने उम्मेदवारी दर्तामा नेकपाबाटै विद्रोह भएको थियो । लामो समय जनयुद्धमा सामेल भएका दलविर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिने चित्रप्रकाश गिरी पनि नेकपामा पुराना नेता हुन् । यद्यपी बस्नेत र गिरी दुबैले उम्मेदवारी फिर्ता लिएका छन् । ‘वडा नम्बर ५ विगतदेखि नै माओवादीको प्रभावित क्षेत्र हो, अहिले पनि मतदाताको माहोल नेकपाप्रति छ,’ सोही वडाका नेता भिम कुमाखी भन्छन्, ‘हाम्रा बलिया उम्मेदवार छन्, विद्रोही साथीहरुले उम्मेदवारी फिर्ता लिनुभएको छ, नजिता हाम्रो पक्षमा आउँछ ।’

तत्कालिन वडाध्यक्ष हरिप्रकाश बुढाथोकी हाल जिल्ला समन्वय समितिको उपप्रमुख र कुमाख गाउँपालिका अध्यक्ष दीलमाया बुढालाई नेकपामा उम्मेदवार धर्मे बुढाथोकीलाई जिताउनैपर्ने दबाब छ ।

तर यही मौकामा कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । ‘पदका लागि नेकपाका नेताहरु आफूभित्रै लडेका छन्, हामी एक ढिक्का भएका छौं,’ कांग्रेस सल्यानका सभापति गणेश चन्द्र भन्छन् ‘जनताको विश्वास हामीप्रति छ चुनावी नतिजा हाम्रो पक्षमा आउँछ ।’ त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाह पनि चुनावी मैदानमा छन् । यद्यपी त्यहाँ पनि कांग्रेस र नेकपाका उम्मेवदारबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । त्यहाँ १ हजार ८ सय ३९ जना मतदाता रहेका छन् ।

प्रकाशित: Nov 26, 2019| 12:12 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।