काठमाडौं - मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको शुल्क भन्दा बढी रकम नलिएको दाबी गरेका छन्। सोमबार अन्तिम पटक बढी रकम फिर्ता गर्न सरकारले दिएको २४ घण्टे अल्टिमेटमपछि मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकमा उनीहरुले बढी शुल्क विद्यार्थीबाट असुल नगरेको भन्दै रकम फिर्ता गर्न मानेनन्।
नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाले आफूहरुले विद्यार्थीबाट बढी शुल्क नलिएको दाबी गरे।
मेडिकल सञ्चालकहरुले बढी शुल्क नलिएको दाबी गर्दै फिर्ता गर्न नमानेपछि बैठक निष्कर्षविहिन भएको छ। सञ्चालकहरु बैठकस्थलबाट बाहिरिएका छन्। उनीहरुले बढी शुल्क लिएको भए उक्त रकमलाई पछि समायोजन गर्न सकिनेसमेत बताए पनि बढी लिइएको शुल्क फिर्ता गर्न भने तत्परता देखाएनन्।
यसअघि विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको थियो।
सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्टिमेटममासमेत पैसा फिर्त गर्ने सुरसार नदेखाएपछि सरकारले मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठक बसेको थियो। बैठकले विद्यार्थीबाट लिइएको बढी शुल्क मंगलबारसम्म फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको थियो।