काठमाडौं– राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा सोमबारदेखि चारदिने चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्युरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा एकदेशीय व्यापार मेला सुरु भएको हो ।
आयोजक तिब्बत बोर्डर ट्रेड चेम्बरका अध्यक्ष ला वाछिलेका अनुसार मेलामा चीनका ५० भन्दा बढी प्रदर्शकले स्टल राखेका छन् । मंसिर १२ गतेसम्म चल्ने मेलामा जौबाट बनेका खाद्य सामग्री, दुग्ध पदार्थ, मदिरा, वाइन, तिब्बती औषधी, हस्तकला, स्किन केयरसम्बन्धी उत्पादन, खेलकुद, कपडा, भवनका सामग्री, साइकललगायतको स्टल राखिएको छ ।