काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको तलब संघीय मन्त्रीको भन्दा बढी देखिएको छ।
उसो त मन्त्रीको भन्दा मुख्य सचिवको तलब बढी छ। मुख्य सचिवको तलब ग्रेडसहित मासिक ७१ हजार ६ सय १६ रुपैयाँ छ भने उपकुलपतिको तलब ७३ हजार ९ सय ८० छ। मन्त्रीको मासिक तलब भने ७० हजार रुपैयाँ छ। यो उपकुलपतिको भन्दा ३ हजार ९ सय ८० कम हो।
यसैगरी शिक्षाध्यक्ष, रजिस्ट्रार, सेवा आयोगका सदस्य, डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको तलब ७० हजारभन्दा माथि छ। प्राध्यापकको बढेको तलब ग्रेडसहित ६६ हजार ८ सय ६० रहेको छ।
सरकारले २०७८ साउन १ गतेदेखि लागू हुने गरी निजामती, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको तलब बबढाएको छ। सोहीअनुसार त्रिवि कार्यकारी परिषद्ले प्राध्यापक र कर्मचारीको तलब बढाएको हो।
२०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड निर्धारण गरिएको त्रिवि कार्यकारी परिषद्ले जनाएको छ। प्राध्यापकहरूले भने आफूहरूको तलब सार्क क्षेत्रका प्राध्यापकहरूको समान हुनुपर्ने बताउँदै आएका छन्।