काठमाडौं- नेपाल चाइना तिव्बत व्यापार मेला सोमबारदेखि काठमाडौंको त्रिपुरेश्वरमा सुरु भएको छ।
नेपालमा तिब्बती उत्पादनहरुको प्रदर्शनी तथा बजारको खोजी गर्ने उद्देश्यसहित नेपाल–चीन वाणिज्य संघ र तिव्वत बोर्डर ट्रेड चेम्बरले संयुक्त रुपमा आयोजना गरेको सो मेलामा तिब्बत र नेपालमा उत्पादन भएका समाग्रीहरुको ६० वटाभन्दा बढी स्टलहरु रहेका छन्।
सो मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले चीनसँगको व्यापारमा पनि ठूलो घाटा ब्यहोरिरहेको अवस्थामा नेपालबाट निर्यात हुने सामग्रीको बजार खोज्नका लागि नेपालका उद्योगी व्यवसायीहरु लाग्नुपर्ने बताए।
उनले नेपाल र चीनमा संयुक्त रुपमा गरिने व्यापार मेलाले नेपालका उत्पादनको तिब्बतमा प्रबद्र्धन गर्न सहयोग पुर्याउने र क्रमशः व्यापार घाटालाई कम गर्दै लैजान मद्दत पुग्ने दाबी गरे।
उनले नेपालीहरु पहिलेपहिले भोट, ल्हासामा काम गर्न जाने गरेको र उनीहरुसँगको सम्बन्ध हजारौँ वर्ष पुरानो भएको बताउँदै यस प्रकारको मेलाले तिब्बत र नेपालबीचको सौहार्दता झनै कायम हुने दाबी गरे।
त्यसैगरी नेपाल चीन वाणिज्य संघका त्रिभुवनधर तुलाधरले नेपालमा तिब्बतको र तिब्बतमा नेपालको उत्पादनहरुको बजार विस्तारको लागि यस्ता व्यापार मेलाले ठूलो सहयोग पुग्ने दावी गरे।
मेलामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतका व्यवसायीहरुको सहभागिता रहेको छ। मेला मार्फत् दुई देशका उत्पादनहरुको प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ। मेला चार दिनसम्म चल्ने छ।
मेलामा तिब्बती वाइन, छ्याङ, साइकल, बिस्कुट, कपडा लगायतका सामग्रीहरुको स्टल राखिएको छ।