काठमाडौं । सेयर बजार परिसूचक आइतबार १०.५४ अंकले घटेर १११० अंकमा अडिएको छ । यो अंक झन्डै गत तीन वर्षयताकै न्यून हो । अब तीन वर्षअघिको फागुन १९ गतेको अंकमा फर्कनका लागि जम्मा १० अंक भए पुग्छ ।
बैंकमा गहिरिँदै गएको तरलताको अभावका कारण बैंकहरुले मार्जिन लेन्डिङ गर्न सकेका छैनन् भने बैंकहरुले मुद्धति निक्षेपमा नै १३ प्रतिशतसम्म व्याज दिइरहेका छन्, जुन पैसा हुनेहरुको लागि अत्यधिक राम्रो अवसर हो । दोस्रो बजारमा कारोबार भइरहेका कम्पनीहरुले पनि वार्षिक सो अनुपातमा रिटर्न दिन सकिरहेका छैनन् ।
अर्कातिर विभिन्न बैंकहरुले १० वर्षको लागि १० प्रतिशत व्याजमा बन्ड जारी गर्दा लगानीकर्ताहरु त्यतातिर आकर्षित भएका छन् । सेयर बजार भन्दा ती क्षेत्रहरु सुरक्षित भएकोले पनि लगानीकर्ताहरुको आकर्षण बजारप्रति कम भएको हो ।
यसदिन कारोबार रकम भने २८ करोड ५ लाख पुगेको छ । आइतबार सम्पूर्ण समूहगत उपसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी ५७ अंकले निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबैभन्दा कम म्युचुअल फन्डको ०.०९ अंकले ओरालो लागेको छ ।
यसदिन सबैभन्दा बढी एनएमबी बैंक, नेपाल बैंक र साना किसान विकास बैंकको कारोबार भएको छ ।
आइतबार नेशनल हाइड्रोपावर अपी पावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले धेरै कमाएका छन् भने साल्ट टे«डिङ कर्पोरेसन, गुराँस फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।