काठमाडौं- लामो समयदेखिको सरकारविरोधी प्रदर्शनका बाबजुद हङकङको स्थानीय निर्वाचनमा ऐतिहासिक मतदान भएको छ। आइतबार बिहान साढे ७ बजे सुरु भएको जिल्ला पषिद्को निर्वाचनमा कीर्तिमानी संख्यामा मतदान भएको हो।
करिब आधाआधी मात्रै मतदान हुँदा नै सन् २०१५ को चुनावमा खसेको जम्मा मत भन्दा धेरै मतदान भएको अधिकारीहरुले जनाएका छन्।
यो चुनावलाई हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको छ। जिल्ला परिषदको चुनावले हङकङको आगामी कार्यकारी प्रमुखका लागि प्रभाव पार्नेछ।
लोकतन्त्र पक्षधरहरूले पाँच महिनादेखि सरकार विरोधी आन्दोलन चलिरहेको हङकङको चुनावले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरेका छन्।
हिंसा भए मतदान केन्द्रहरू बन्द गरिनसक्ने चिन्ताका माझ आइतवार लामबद्ध भएर मानिसहरू मतदान केन्द्रमा उपस्थित भएका थिए।
मतदान अघि लोकतन्त्र पक्षधर आन्दोलनकारीहरूले मानिसहरूलाई मतदान नबिथोल्न आग्रह गरेका थिए। हालसम्म कुनै अवरोधका विवरण आएका छैनन्।
हङकङको जिल्ला परिषदमा ४ सय ५२ जना प्रतिनिधि चुनिनेछन्।
यस चुनावका लागि अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन्। हङकङको जनसंख्या ७४ लाख छ।
प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्।
बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्। बीबीसी