काठमाडौं- केही दिनदेखि वीर अस्पतालको भीआईपी कक्षमा उपचाररत थिए, निवर्तमान स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव।
मेरुदण्डको समस्याले हिँडडुल गर्नै नसक्ने भएपछि उनी वीर अस्पताल भर्ना भएका थिए। राज्यमन्त्रीका हैसियतले उनी भीआइपी कक्षमा बसेर उपचार गराइराखेका थिए। तर, उपचारकै क्रममा बुधबार उनको राज्यमन्त्री पद खोसिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसहित ३ राज्यमन्त्री र ६ मन्त्रीलाई पदबाट हटाउँदै ९ नेतालाई मन्त्रिपरिषद्मा भित्र्याएका छन्।
राज्यमन्त्री यादवकै पार्टी समाजवादीका अध्यक्ष उपेन्द्र यादवको समेत जिम्मेवारी हेरफेर भएको छ । प्रधानमन्त्री ओलीले यादवलाई कानुन मन्त्रालयमा सरुवा गर्दै उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिएका छन् ।