सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस उपसभापति निधिले राजपा र सपालाई भने– पैंचो फिर्ता गर्ने बेला भएको छ

कांग्रेस उपसभापति निधिले राजपा र सपालाई भने– पैंचो फिर्ता गर्ने बेला भएको छ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पाटी (सपा)लाई पैंचो फिर्ता गर्न आग्रह गरेका छन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पाटी (सपा)लाई पैंचो फिर्ता गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा दुवै पार्टीलाई नेपाली कांग्रेसले लगाएको ऋण फिर्ता गर्न उपसभापति निधिले आग्रह गरेका हुन्।

उपनिर्वाचनलाई लक्षित गरी महोत्तरीको पिपरामा बुधबार आयोजित आमसभामा बोल्दै निधिले प्रतिनिधिसभा निर्वाचनको क्रममा महोत्तरीबाट राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएकाले त्यहाँबाट कांग्रेसले उम्मेदवारी फिर्ता लिएको स्मरण गराए।

“महन्थ ठाकुर मेरो गुरु हुनुहुन्छ, उहाँप्रति मेरो सम्मान अझै कायम छ, उहाँले पनि मलाई सम्मान गर्नुहुन्छ,” निधिले भने, “उहाँप्रतिको सम्मानलाई कदर गर्दै आफ्नो उम्मेदवार फिर्ता गराउने अपराधी म छु। उपनिर्वाचनमा कमसे कम पैंचो फिर्ता गर्नुस् मेरो आग्रह छ ।”

नेपालबाट मधेसवादी दल अन्त्य भइसकेको निधिले बताए। पार्टीको नाउँबाट मधेस शब्द हटाइसकेकाले आफूलाई ‘मधेसवादी’ भत्र नसुहाउने उनको भनाइ थियो।

“एमाले र माओवादी सकिएझैं मधेसवादी दल पनि अब रहेन,” निधिले भने, “मधेसको नाममा ढाट्नेहरूसँग सचेत हुनु जरुरी छ।”

मधेसीसँग विभेद हुने गरी संघीय सरकारले ल्याउन लागेको नागरिकतासम्बन्धी विधेयक आफूहरूलाई कदापि मान्य नरहेको भन्दै उनले विधेयक फिर्ता नभए सदन र सडकबाट संघर्ष गर्न बाध्य हुने बताए। विदेशी महिलालाई सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान सरकारले ल्याउन खोजे पनि सत्तासीन समाजवादी पार्टीले केही बोल्न नसकेको निधिले जिकिर गरे।

प्रदेशलाई अधिकारविहीन बनाएर नेकपा नेतृत्वको सरकार संघीयता मास्नतर्फ उद्दत रहेको निधिले आरोप लगाए। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फरमुल्ला मंसुरले संविधान संशोधन गर्ने भन्दै सरकारमा सामेल समाजवादी पार्टी मधेसी जनताको अधिकारको कुरा बिर्सेको आरोप लगाए। संविधान संशोधन गराउन नसकेपछि ६÷६ महिनापछि समाजवादी पार्टीले सरकार छोड्ने घुर्की दिनुबाहेक अरु केही गर्न नसकेको उनले बताए।

प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट दर्शन मुलुक बनाउने नरहेको कुरा डा. बाबुराम भट्टराईले ४० वर्षपछि बल्ल थाहा पाएको जिकिर गरे। कम्युनिस्टले मुलुक बनाउन नसक्ने थाहा पाएर भट्टराईले पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाइ थियो।

आगामी १४ गते पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि हुने निर्वाचनमा कांग्रेस, नेकपा, राजपा र समाजवादी पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

प्रकाशित: Nov 21, 2019| 03:26 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।