काठमाडौं- महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले लामो प्रयासपछि चोरीका गाडीको कारोबारमा संलग्न ३९ वर्षीय दीपेन्द्र भनिने दीपक बुढालाई पक्राउ गर्याे।
बुढा पक्राउ परेको चार दिनपछि काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका सञ्चालक ३४ वर्षीय मुकुन्दप्रसाद पुडासैनी पक्राउ परे। बुढा सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ घर भई काठमाडौं काभ्रेस्थली बस्छन् भने पुडासैनी गोरखा सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका गोलढुंगामा बस्छन्।
प्रहरीले उनीहरुबाट चोरीका चारवटा गाडीसमेत बरामद गरेको छ। बुढा भारतबाट चोरीका गाडी ल्याएर नेपाली नम्बर टाँस्दै बिक्रि र भाडामा लगाउने समूहका नाइके रहेको बुझिएको छ।
बुढाले तीनवटा गाडीमा नक्कली नेपाली नम्बर प्लेट राखेर पुडासैनीलाई भाडामा दिएका थिए भने एउटा भारतीय नम्बर प्लेटको गाडी आँफैले प्रयोग गरिरहेका थिए।

उनीहरुको साथबाट प्रहरीले एक करोड ३० लाख नेपाली मूल्य पर्ने बा ११ च ९७९४ नम्बरको फर्च्युनर कार, ६५ लाख मूल्य पर्ने एस सेभेन मोडलको बा २१ च ८७१४ नम्बरको स्कार्पियो, ५० लाख मुल्य पर्ने एस फोर मोडलको बा १८ च ३१३८ नम्बरको स्कार्पियो तथा डीएल२सीएजेड ७७९९ भारतीय नम्बर प्लेटको क्रेटा कार बरामद गरेको छ।
तीन वटै नेपाली नम्बर नक्कली भएको खुलेको छ। बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार सक्कली बा १८ च ३१३८ नम्बरको स्कर्पियो अछामका हर्क थापाको नाममा दर्ता छ।
अरु दुबै नम्बरका गाडी बाग्मती अञ्चलबाट अन्य अञ्चलमा सरुवा सहमति भएर गएका छन्। सरुवा सहमति भएपछि जुन अञ्चलमा गाडी दर्ता भयो त्यही अञ्चलको नम्बर हुने हुँदा पुरानो नम्बर स्वतः खारेज हुन्छ।
यातायात क्षेत्रका जानकारहरुका अनुसार दलालहरुलाई खारेज भएका नम्बर बारे जानकारी हुने भएकाले उनीहरुसँग मिलेर नै चोरीका गाडी ल्याउनेहरुले खारेज भएको नम्बर राख्ने गर्दछन्। प्रहरीले बरामद गरेका दुईवटा गाडीमा भएका नेपाली नम्बर खारेज भैसकेको पाइएको छ।
बुढाले एउटा गाडी मासिक एक लाखदेखि एक लाख २० हजार रुपैँया सम्ममा भाडामा दिने गरेको प्रहरीले जनाएको छ। ‘बुढासँग चोरीका चारवटा मात्र हैन अझै केही गाडीहरु छन् भन्ने सूचना आएको छ’ कालिमाटी बृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले भने, ‘बुढाले बिक्री गरेका चोरीका अरु गाडीबारे पनि खोजबिन जारी छ।’
बुढाको अपराधिक संलग्नता
चोरीका गाडीको कारोबारमा मात्र संलग्न नभएर बुढा अन्य थुपै्र अपराधिक गतिविधमा संलग्न रहेको पाइएको छ।
प्रहरीका अनुसार बुढा हातहतियार खरखजाना मुद्दामा तीन महिना जेल बसेर छुटेका हुन्। प्रहरीका अनुसार बुढाले सुर्खेत जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा मुद्दा खेपिसकेका छन् । उनले चक्कु प्रहार गरि कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवको हात नै काटेको बुझिएको छ।
त्यस्तै बुढा सुर्खेत जिल्ला अदालतमा परेको अपहरण तथा शरीर बन्धक बनाउने मुद्दामा सजायँ भोगिसकेका छन्।
बीरगंजबाट मदिरा बोकेको एक ट्रक नै अपहरण गरेर बुढाले दैलेखको राकममा लगेर बेचेको पनि खुलेको छ। प्रहरीकै सक्रियतामा उक्त मुद्दा मिलापत्रमा टुङ्ग्याइएको स्रोतले जनाएको छ।
बुढाले नै बिक्री गरेको एक चोरीको गाडीको ठक्करबाट कैलालीको चौमालामा एक जनाको ज्यान जाँदा प्रहरीकै मिलेमतोमा उक्त घटना थामथुम पारिएको प्रहरी स्रोतले जनाएको छ।
यतिमात्र नभएर बुढा अर्काको जग्गा बन्धकी राख्ने, मिटरव्याजको कारोबार गर्ने कार्यमासमेत संलग्न रहेको प्रहरीले जनाएको छ। बुढा पक्राउ परेको थाहा पाएपछि उनीबाट ठगिएका थुपै्र मानिस आफ्नो सम्पर्कमा आएको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए।
काठमाडौंकै एक जनाबाट गाडी दिने भनेर १२ लाख रुपैँया लगेको र पछि गाडी नदिएको भन्दै आएको कुँवरले बताए। बुढालाई पैसा दिने मानिस बितिसकेकाले आफन्तले भनेको बुढाले अस्वीकार गरेको कुँवरले सुनाए। ‘बुढाबाट पीडित भएकाहरुको संख्या त थुप्रो रैछ’ कुँवरले भने, ‘सुर्खेतबाट थुपै्रले फोन गरेर हामी पैसा दिन्छौँ बुढालाई मारिदिनुपर्यो भनेरसमेत फोन आउँछन्।’
यसरी पक्राउ परे बुढा
बुढा भारतबाट चोरी गरेर ल्याएका गाडीको कारोबार गर्छन् भन्ने सूचना प्रहरीलाई भदौमा नै आएको थियो। त्यसपछि प्रहरीले उनको खोजीकार्य थाल्यो।
प्रहरी गाडी किन्ने ग्राहक बनेर तेस्रो पक्षबाट बुुढाको नजिक पुग्यो। नक्कली ग्राहक बनेर प्रहरीले पक्राउ गर्न खोजेको कुरा बुढाले पत्तै पाएन। ‘दसैँ अघिदेखि नै गाडीको बार्गेनिङ सुरु भएको थियो’ प्रहरी नायव उपरीक्षक कुँवरले भने, ‘१७ लाखबाट सुरु भएको बार्गेनिङ आठ लाखमा आएर टुंगियो।’ बुढाले गाडी किन्नलाई पैसा बोकेर काभ्रेस्थली बोलाएपछि त्यहीबाट पक्राउ परे।
प्रहरीले दुबै जनाविरुद्ध अभद्र व्यवहार अन्र्तगत मुद्दा चलाएको छ। उक्त मुद्दाको टुंगो लाग्ने बित्तिकै चारवटै गाडीसहित भन्सार बिभागमा बुझाइने तयारी प्रहरीले गरेको छ। सुर्खेतबाट देव रानाकाे सहयाेगमा