काठमाडौं– बुधबार बिहानैदेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठनका लागि सक्रिय भए । मन्त्रिपरिषद् पुनर्गठनका लागि दुई अध्यक्षबीच सैद्धान्तिक सहमति भइसकेको भए पनि कस–कसलाई हटाउने र कसलाई ल्याउने भन्ने टुंगो लागेको थिएन । प्रधानमन्त्री ओलीले मंगलबार साँझको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बताए पनि को–को मन्त्रीबाट हट्नेछन् भनेर बताएका थिएनन् ।
थपिने मन्त्री तथा कायम रहने मन्त्रीको कार्यविभाजनबारे बुधबार बिहान अध्यक्षद्वयबीच छलफल भयो । त्यसपछि दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगे ।
शीतलनिवास बैठकपछि नेकपा सचिवालय बैठक बस्यो प्रधानमन्त्रीकै निवास बालुवाटारमा । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने अनुपस्थित रहे । दुवैजना विदेशमा रहेको बताइएको छ ।
सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरु परिवर्तन गर्ने बताएका थिए । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले छिट्टै मन्त्री परिवर्तन हुने बताएको जानकारी गराए ।
सचिवालय बैठकले कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने निर्णय गर्यो । यसअघि ओली कार्यकारी अध्यक्षको भूमिकामा थिए । यद्यपि, बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।
कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ । एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने । ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने सचिवालय बैठकले निर्णय गरेको छ ।
सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गर्ने अपेक्षा गरिएको थियो। कोको मन्त्रीहरु फेरिँदैछन् र को थपिँदैछन् भन्ने चासो सबैमा थियो। बैठकपछि सञ्चारकर्मीहरुले प्रवक्ता श्रेष्ठलाई मन्त्रिपरिषद् पुनर्गठनबारे जिज्ञासा राखेका थिए । जवाफमा श्रेष्ठले भने, ‘क्याबिनेटको बारेमा प्रधानमन्त्रीज्यूले यसअघि नै संकेत गरिसक्नुभएकै छ । आजको बैठकमा त्यसबारे छलफल भएन । तर, प्रधानमन्त्रीले यसअघि संकेत गर्नुभएजस्तै छिटै नै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छ ।’
बैठकले दुई अध्यक्षको जिम्मेवारी केके हुने भन्ने तय गरेको छ । यसअनुसार ओली पूरै पाँच वर्ष प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष हुनेछन् । नेकपामा दुई अध्यक्षको जिम्मेवारी निर्धारण भएपछि प्रधानमन्त्रीलाई आफूअनुकूल मन्त्रिपरिषद् हेरफेरका लागि सहज भएको विश्लेषण गरिएको छ । सरकारको जिम्मेवारी ओलीले र पार्टीको जिम्मेवारी प्रचण्डले सम्हाल्ने सहमति भएपछि ओलीलाई सहज भएको बताइएको छ ।
मन्त्रीमण्डल हेरफेर हुने पक्का भएपछि अधिकांश मन्त्रीहरु सिंहदरबार गएनन् । पछिल्लोपटक नियुक्त भएका पर्यटनमन्त्री योगेश भट्टराई, सञ्चारमन्त्री गोकुल बास्कोटा, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ तथा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट भने मन्त्रालय पुगेका थिए ।
मन्त्रिपरिषद् पुनर्गठनको असर संसदीय समितिमा पनि पर्यो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री उपस्थित नभएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित भयो । प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बुधबार कुनै कार्यक्रम नराख्न मन्त्रीहरुलाई आग्रह गरेका थिए ।
आफू पदबाट नहट्ने निश्चित भएका पर्यटनमन्त्री भट्टराई आफ्नो मन्त्रालय मातहतका विभागको पर्यटन बोर्डमा बसेको नियमित आन्तरिक बैठकमा सहभागी भए । सन्तोषजनक रुपमा काम गर्न नसक्ने विभागीय प्रमुखहरु हटाइने चेतावनी उनले दिए । मातहतका विभागको कामकारबाहीप्रति असन्तुष्ट जनाउँदै उनले प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए।
मंगलबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको स्पष्ट संकेत गरेपछि बुधबार दिनभर पदबाट हट्ने र नयाँ थपिने सम्भावित मन्त्रीका नामको चर्चा चल्यो । तर दिनभरको दौडधुपमा पनि मन्त्रिपरिषद् पुनर्गठनको ‘लफडा’ टुंगिएन ।
प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको विषय आज नटुंगिएको बताए ।