पोखरा- हेलिकप्टरबाट हाम फालेर झर्दै प्यारासुटबाट ओर्लिने खेल स्काइ डाइभिङ मंगलबारबाट पोखरामा सुरु भएको छ।
हिमाल आरोहणपछिको सबैभन्दा महँगो र साहसिक मानिने स्काइ डाइभिङ मंसिर ९ गतेसम्म हुने आयोजक एक्स्प्लोर हिमालयले जानकारी दिएको छ। एक्स्प्लोर हिमालयका अनुज पाण्डेका अनुसार मंगलबार १० नेपालीले डाइभ गरेका छन्।
पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा भएको खेलमा समिट हेलिकप्टरको प्रयोग भएको छ भने १३ जना विदेशी विज्ञले उडान र जम्प गराइरहेका छन्।
१० नेपालीसहित करिब १६० जनाले यो सिजनमा स्काइ डाइभ गर्ने आयोजकले बताएको छ। स्काइ डाइभिङको प्राविधिक जनशक्तिको नेतृत्व फ्रान्सका पाउल हेनरीले गरेका छन् भने फ्रान्ससहित बेलायत, पोल्यान्ड, अमेरिका, पानामा, साउदी अरेबिया लगायतका देशका जनशक्तिहरु स्काइ डाइभिङमा उपस्थित भएका छन्।
अभाव नेपाली जनशक्तिको
हाल नेपालीलाई ९० हजार रुपैयाँ र विदेशीलाई १ हजार अमेरिकी डलर शुल्क लाग्ने स्काइ डाइभिङमा नेपाली प्राविधिक जनशक्तिको अभाव छ। सन् २००८ बाट परीक्षण र २०१३ बाट वार्षिक रुपमा स्काइ डाइभिङका कार्यक्रम नेपालमा भए पनि जनशक्तिको अभाव अझैसम्म देखिएको छ।
पोखरा र स्याङबोचेमा गराउँदै आएको एक्स्प्लोर हिमालयका अनुसार स्काइ डाइभिङमा नेपाली जनशक्ति अभाव छ।
स्काइ डाइभिङमा आवश्यक हेलिकप्टरका जनशक्ति बाहेक हाम फाल्न र ल्यान्डिङ गराउने प्राविधिक स्काइ डाइभिङ मास्टर नेपाली नभएको एक्स्प्लोर हिमालयका अनुज पाण्डेले बताए। उनका अनुसार नेपालीहरुले स्काइ डाइभ गरे पनि गराउने स्तरका प्राविधिक जनशक्ति भने अझैसम्म बनेका छैनन् ।