जनकपुरधाम- भारत सरकारको सहयोगमा जनकपुर–जयनगर रेलमार्ग निर्माण सुरु भएसँगै जनकपुरसहित पूर्वी धनुषाका नागरिकमा खुशी छाएको थियो ।
बिहारको जयनगरसम्म पुगेर भारतको विभित्र स्थानसम्म पुग्न सहज हुने सोचेका थिए, जनकपुर र पूर्वी धनुषाका स्थानीयले । रेल सेवा सञ्चालन भइसकेपछि भारतबाट सामान आयात गर्न सहज हुने यहाँका व्यवसायीहरुको पनि अपेक्षा थियो ।
पुरानो ‘न्यारो गेज ट्र्याक’ विस्थापित गरेर ‘ब्रोडगेज ट्र्याक’ मा आधुनिक रेल सञ्चालन गर्ने योजनाअनुरुप निर्माण कार्य पनि सुरु भयो ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल गुडाउन आवश्यक सम्पूर्ण पूर्वाधारहरु करिब–करिब तयारी अवस्थामा छ । गत असारमा आएको बाढीले धनुषास्थित इनर्वामा बगाएको रेलको लिक पनि धमाधम तयार भइरहेको छ । भारतबाट इन्जिन र मालगाडी ल्याएर पटकपटक परीक्षण हुँदा जनकपुरवासी थप हर्षित भएका थिए– अब रेल गुड्छ भनेर ।
यति भइसक्दा पनि जनकपुरबासीले रेल चढ्न पाउने मिति यकिन भएको छैन । सम्बन्धित निकायले कहिले दुई महिनापछि, कहिले चार महिनापछि त कहिले विवाह पञ्चमीमा रेल सञ्चालन निश्चित रहेको भन्दै आवश्वासन बाँड्दै आइरहेका छन् ।
पछिल्लो वर्षकै विवाह पञ्चमीमा रेलमार्ग सञ्चालन गर्ने चर्चा चलेको थियो । कतिपय जिम्मेवार अधिकारीहरुले नै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीको अवसर पारेर रेलमार्ग उद्घाटन गर्ने सुनाए । मोदीले नभएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेलमार्ग उद्घाटन गर्ने चर्चा पनि चलेको थियो ।
विवाह पञ्चमी सकिएको एक वर्ष पुग्न लागिसक्यो । यस वर्षको विवाह पञ्चमी आउन केही दिनमात्र बाँकी छ । तर रेलमार्ग सञ्चालन हुने कुनै सम्भावना देखिएको छैन । विभागीय मन्त्रीदेखि सम्बद्ध अधिकारीहरुको आश्वासन झुटो साबित हुँदै गएपछि रेल चल्ने वा नचल्ने विषयमा जनकपुरवासीले शंका व्यक्त गर्न थालेका छन् ।
वि.सं. १९९४ मा जनकपुर–जयनगर रेलमार्ग सञ्भालनमा आएको थियो । भारतमा शासन गरिरेहको तत्कालीन ब्रिटिस सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालन गरिएको थियो त्यतिबेला ।
नेपालका तत्कालीन कमाण्डर इन चिफ पद्म शमशेरले विवाह पञ्चमीकै दिन रेलको उद्घाटन गरेका थिए । सम्भवतः यसै कारण नयाँ निर्माण भएको ब्रोडगेज रेल पनि विवाहपञ्चमीकै अवसर पारेर सञ्चालन हुन सक्ने अपेक्षा धेरैले गरेका थिए ।
केही दिनअघि जनकपुरको एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नोभेम्बर महिनादेखि रेल सञ्चालन हुने बताएका थिए । भारतसँग खरिद गरिएका दुईवटा इन्जिनको परीक्षण भइसकेको र पेन्टिङ भइरहेको उनको भनाइ थियो ।
एक हजारदेखि १३ सय सिट क्षमता भएका दुईवटा रेल भारतले नोभेम्बर महिनामा हस्तान्तरण गरेलगत्तै सञ्चालनमा आउने दाबी महासेठले गरेका थिए । केही कूटनीतिक समस्याका कारण रेलमार्ग सञ्चालनमा ढिलाइ भएको उनको जिकिर थियो । यद्यपि महासेठले कूटनीतिक समस्याबारे केही बोलेनन् ।
महासेठले भनेझैं नोभेम्बर महिनाको आधाभन्दा बढी बितिसकेको छ । तर जनकपुर–जयनगर रेल सञ्चालनबारे अन्योल अझै कायम छ ।
अन्योल बढ्न थालेपछि जनकपुरवासीले संघीय सरकार र सम्बन्धित विभागीयम न्त्रीकै कारण रेल सञ्चालनमा ढिलाइ भएको आरोप लगाउन थालेका छन् ।
जनकपुरका अग्रज पत्रकार तथा स्वतन्त्रता सेनानी राजेश्वर नेपाली संघीय सरकारले नियतवश रेलमार्ग सञ्चालनमा ढिलाइ गरिरहेको आरोप लगाउँछन् । ‘पछिल्लो दुई वर्षदेखि रेलमार्ग सञ्चालन हुने कुरा सुनिरहेको छु । भारतसँग रेल खरिद गर्ने प्रक्रियासमेत पूरा भइसकेको छ । तर, सरकारले इच्छा नदेखाउँदा ढिलाइ भएको छ,’ उनी भन्छन् ।
‘प्रदेश सरकार वा स्थानीयतहको सरोकार छैन । सम्पूर्ण अधिकार संघीय सरकारमा छ । रेलमार्ग सञ्चालनमा संघीय सरकारबाहेक अरु कसले ढिलाइ गरेको छ ?’ नेपालीले प्रश्न गरे ।
रेलवे स्टेशन बन्यो विश्रामस्थल
ब्रोड गेज रेलमार्ग निर्माणसँगै जनकपुरलगायत रेल खण्डको सबै स्टेशन निर्माण कार्य पूरा भइसकेको छ । रेलवे स्टेशनहरु चिटिक्क पारिएका छन् । स्टेशनहरुमा आवश्यक सबै पूर्वाधारहरु छन्, रेल बाहेक । रेल सञ्चालन नहुँदा जनकपुरको रेलवे स्टेशन अहिले विश्रामस्थल बनेको छ ।
कतिपय मर्निङ वाकका लागि त्यहाँ पुग्ने गरेका छन् भने राजनीतिक दलहरुले स्टेशन परिसरमा कार्यक्रम गर्ने स्थान बनाएका छन् । मर्निङ वाकपछि थकाइ मार्न अहिले स्टेशन प्रयोग भइरहेको छ ।
चोरिँदै छ लिकको सामान
रेलमार्ग सञ्चालनमा ढिलाइ भएपछि भौतिक संरचनाहरुमा समेत क्षति पुग्न थालेको छ ।
आवश्यक निगरानीको अभावमा भौतिक संरचनाहरु चोरी हुन थालेका छन् । खास गरेर लिकको क्लिप, टाइल्स, खानेपानीको धारालागायतका संरचनाहरु चोरी हुने गरेको रेल विभागका साइट इन्जिनियर विनोद ओझा बताउँछन् । यस्ता उच्छृंखल गतिविधि रोक्न प्रहरीसँग सहयोग माग गरिएको उनले बताए ।
नेपाल–भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर–कुर्था ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ।
कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई विस्थापित गरी ब्रोडगेजको रुपमा विस्तार गरिएको हो ।
यसैगरी कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म पनि रेलमार्ग निर्माण कार्य भइरहेको छ । सन् २०१४ देखि रेलमार्ग निर्माण भएपछि जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।