लुम्बिनी । लुम्बिनीमा दुई दिनयता फरक माहौल छ । नेपालका छापा, रेडियो, टेलिभिजन र अनलाइन मिडियाका सम्पादकहरु यतिबेला लुम्बिनीमा भेला भई संघियतापछिको पत्रकारिताको विभिन्न विधामाथि बहस गरिरहेका छन् ।
नेपालमा पहिलोपटक आयोजना भएको न्यूज फेस्टिवलमा सोलुखुम्बुदेखि डोल्पासम्मका विभिन्न सञ्चारमाध्ययममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको छ ।
बिहान ८ बजेदेखि राति ८ बजेसम्म चलिरहेको विभिन्न सत्रमा विभिन्न सञ्चार माध्ययमका सम्पादकहरुबीच विधागत रुपमा बहस भइरहेको छ । तीन दिने कार्यक्रम अन्तर्गत सोमबार भएको के लेख्ने, कसरी लेख्ने भन्ने सत्रमा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा, राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक श्याम प्रसाद रिमाल, गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनाल, नयाँ पत्रिका दैनिकका सम्पादक उमेश चौहान र नेपाल समय डटकमका सम्पादक सञ्जिव शर्माबीच प्यानल छलफल भयो ।
गोरखापत्र दैनिकका प्रदेश ५ का संयोजक दीपक ज्ञवालीले सहजीकरण गरेको उक्त कार्यक्रममा अहिलेको अवस्थामा समाचारका विषयवस्तुबीच पनि सम्पादकहरुबीच चर्को बहस भएको थियो ।
यसैगरी सोमबार नै लुम्बिनी सम्पदा, महत्व र स्थानीय समाज विषयक सत्रमा लुम्बिनीको विगत, वर्तमान र भविष्यको बारेमा नयाँ बहस सृजना भएको छ । उक्त सत्रमा संघीय सभाका सांसद घनश्याम भुसाल, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, प्रदेश सभाका सांसद फकरुद्धिन खान, एबिसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कँडेलबीच चर्को बहस भएको हो । पत्रकार चन्द्र किशोरले सहजीकरण गरेको उक्त सत्रमा लुम्बिनीको अन्तर्राष्ट्रियकरणमा सबैको सहकार्य र एकता जरुरी रहेको बताइएको थियो ।
सोमबार दिउँसो नै सम्पन्न स्टोरि टेलिङ सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, अग्रज पत्रकार नारायण वाग्ले र दीपक अधिकारीबीच बहस भयो । पत्रकार अमृता अनमोलले सहजीकरणको उक्त सत्रमा समाचारको विषय उठान विषयमा पनि छलफल भएको थियो ।
यसैगरी सोमबार नै सम्पन्न संघीयतामा न्यू मिडिया सत्रमा इमेज टिभीका विजय पौडेल, अनलाइन खबर डटकमका सम्पादक अरुण बराल, नेपाल लाइभका सम्पादक नारयण अमृत, फ्री प्रेस नेपालका सम्पादक जेबि पुन मगर र सेतोपाटी डटकमको प्रदेश ५ संयोजक भगवती पाडेबीच वर्तमान अवस्थामा अनलाइन मिडियाहरुको विषयमा बहस भएको थियो ।