सल्यान । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षण पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।
विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए । शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन् ।
“वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजेँ,” बुढामगरले भने । आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, “अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु ।”
रासस