श्रीलंका - श्रीलंकामा आज(शनिबार) राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको हो।
राष्ट्रपतिका लागि ३५ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। नयाँ राष्ट्रपति चयनका लागि करिब डेढ करोड मतदाताले आफ्नो मत दिनेछन्। चुनावामा पूर्व रक्षा सचिव गोतबया राजापाक्षे र सत्तारुढ पार्टीका उम्मेदवार साजित प्रेमदासबीच कडा टक्कर हुने अनुमान गरिएको छ।
देशको खस्कदो अर्थ व्यवस्थालाई सुधार गर्नुपर्ने तथा २०२०मा हुने संसदीय चुनाव सफलताका साथ सम्पन्न गर्नेलगायताका चुनौति नयाँ चयन हुने राष्ट्रपतिसमक्ष हुने छन्। श्रीलंकमा केही समय अघि इस्लामिक स्टेट (आईएस)ले चर्चमा गराएको बम विस्फोटमा परि २५० बढी मानिसको मृत्यु हुँदा त्यसले पर्यटन उद्योगमा ठूलो असर गरेको थियो।
श्रीलंकामा भैरहेको यो राष्ट्रपति चुनाव हालसम्मकै महंगो हो। चुनावमा कुल ४ दशमलव १ करोड डलर (७ दशमलव ५ अर्ब श्रीलंकाली रुपैयाँ) खर्च हुने अनुमान गरिएको छ।
यसैबीच चुनाव भैरहँदा केही स्थानमा मतदातामाथि गोली प्रहार भएको खबरहरुसमेत आएका छन्। प्रहरीले भने हालसम्म त्यस्तो कुनै अप्रिय घटना घटिनसकेको जनाएको छ।