काठमाडौं - आफैंले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरुलाई जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप लागेका मोहम्मद अफताब आलमलाई शनिबार बिहान नख्खु कारागार ल्याइएको छ। उनलाई करिब साढे ४ बजे बिहान रौतहटबाट नख्खु कारागार ल्याइपुर्याइएको हो।
१२ वर्ष अगाडिको रौतहटको राजपुर बम विस्फोट प्रकरणका मुख्य अभियुक्त आलमलाई सुरक्षाका कारण नख्खु कारागार ल्याइएको प्रहरीले जनाएको छ। आलमलाई जिल्लामा राख्न जोखिम देखिएपछि उनलाई अदालतको फैसलापछि केही समय रौतहट राखिएपनि राति नै नख्खु कारागार ल्याइएको हो।
फैसलापछि सम्भावित घटनालाई लिएर रौतहटको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। अभियुक्तलाई थुनामा पठाउने आदेशसँगै विपक्षमा बयान दिने तथा साक्षीहरूको सुरक्षालाईसमेत विशेष ख्याल गरिएको प्रहरीले जनाएको छ।
यसैबीच आलमलाई पूर्पक्षका लागि जेल चलानको आदेश दिने जिल्ला न्यायाधीश दीपक ढकाल र आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवालले जिल्ला छोड्दै आफूहरुको सरुवा गरिदिन माग गरेका छन्।
अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए।
आलमका पक्षमा आदेश नआए जेसुकै हुनसक्ने धम्कीसमेत आएको थियो। आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन्।