काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएका संस्थामा निर्वाचन आयोगले तीन दिन बिदा दिने निर्णय गरेको छ।
निर्वाचन आयोगले मतदान केन्द्र तोकिएका संस्थामा मंसिर १२ देखि १४ गतेसम्म बिदा दिन भनेको छ। मंसिर १४ गते प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ।
आयोगले गरेको उक्त निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको छ।
निर्वाचन आयोगका अनुसार मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ४ लाख ५४ हजार १ सय १४ मतदाता छन्। ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि उपनिर्वाचनमा २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।