काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले निजामति कर्मचारी उमेर हद ६० वर्ष बनाउन लागिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकले निजमती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐन २०५३ लाई खारेज गर्नेगरी ल्याइएको संघीय निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकमा अवकाश उमेर ६० वर्ष राख्ने सहमति गरेको छ।
बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाश उमेरलाई टुंगो लगाएको हो।
५८ वर्षमा अनिवार्य अवकाश पाउँदै आएका कर्मचारीले अब ६० वर्षसम्म काम गर्न पाउने भएका छन् । तर, यहि विद्येयकमा भएको व्यवस्थाअनुसार पूर्व कर्मचारीले सरकारको विरोध गरे पेन्सन नै खारेज गर्ने व्यवस्था पनि गरिएको छ।
पेन्सन पाइरहेका पूर्वकर्मचारीले सामाजिक सञ्जाल वा कुनै सञ्चारमाध्यममार्फत सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्यविरुद्ध अभिव्यक्ति दिएमा वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा सामान्य प्रशासन मन्त्रालयले पेन्सन रोक्न सक्ने व्यवस्था राख्ने सहमति भएको छ।
अवकाशपछि निजामती कर्मचारीले पनि राजनीतिक दलका नेताले झैं वक्तव्य दिन थालेपछि यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ ।
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले ६० वर्षमा अवकाशः सरकारको विरोध गरे पेन्सन खारेज शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले कर्मचारीको उमेर हद ६० वर्ष शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले अवकाशपछि पनि सरकारविरुद्ध बोले पेन्सन रोक्का शीर्षकमा खबर लेखेको छ ।
यो बाहेक आजका पत्रपत्रिकाले कालापानीका विषमया चीनले आफ्नो धारणा सार्वजनिक गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । चीनले आफूले सीमा नमिचेको प्रष्ट पार्दै कालापानी क्षेत्रको विवाद नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्नेमा जोड दिएको छ।
यसै विषयलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाउँदै कालापानी बारे चीन बोल्योः हामीले मिचेका छैनौं शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले कालापानी विवाद वार्ताबाट टुङ्गियोस् शीर्षकमा खबर छापेको छ ।
यो सँगै कान्तिपुरले प्रधानमन्त्री केपीशर्मा ओलीले शीर्ष नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । उनी बालुवाटारमा लगातार छलफल गर्दै आएका छन् ।
आजको नयाँ पत्रिकाले भने पुरै गाउँलेलाई ठगेर जेल पुगेका श्याम परदेशीको विषयलाई मुख्य समाचार बनाएको छ । परदेशी जेलमा भएपनि गाउँले भने अझै त्रसित देखिएको समाचारमा उल्लेख छ ।