काठमाडौं - समाजवादी पार्टी, नेपालको राष्ट्रिय परिषद् बैठक काठमाडौंस्थित प्रज्ञा भवनमा जारी रहेको छ। बिहीबार अबेर रातिसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको छ।
बैठकमा राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि सहभागीहरुले आ-आफ्ना विचार राख्दै छन्।
बिहीबार साँझसम्म विचार राख्ने अधिकांश सहभागीहरुले सरकारबाट बाहिरिन दबाब दिएका छन्। बैठकमा बोल्ने झण्डै ९० प्रतिशत सहभागीले सरकार तत्कालै छोड्न सुझाव दिएका छन्।
वर्तमान सरकार निकै आलोचित भएको र यसअघि भएको दुई बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै सहभागीहरुले सरकारमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन्।
हुनत अध्यक्ष भट्टराईको राजनीतिक प्रतिवेदनमा पनि सरकारबाट बर्हिगमन हुनुपर्ने प्रस्ताव राखिएको छ। भट्टराईको उक्त प्रस्तावमा ९० प्रतिशत सहभागीले सहमति जनाएको उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जनाएका छन्।
यसैगरी राजपासँग एकीकरण गर्ने पक्षमा पनि अधिकांश सहभागी सहमत रहेका छन्।
मुलुकमा बैकल्पिक शक्ति निर्माणका लागि अगाडि बढेको अवस्थामा राजपासँग एकीकरण गर्न जरुरी भएको सहभागीहरुको प्रतिक्रिया रहेको श्रेष्ठले जनाए।
सरकार बारे बाबुरामको धारणा
विचार फरक भएपनि दुई बुँदे सहमति गरेर पार्टी सरकारमा सहभागी भएको उल्लेख गर्दै भट्टराईले लेखेका छन्,‘सरकारको नेतृत्व गर्ने पार्टीले एकतर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कोतर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको छ।’
‘साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने जस्ता सामान्य मर्यादासमेत ख्याल गरिएको छैन। तसर्थ संघीय सरकारमा पार्टीको संलग्नता बारे गम्भीर समीक्षा गर्नु जरुरी छ।’ प्रतिवेदनमा भट्टराईले लेखेका छन्,‘सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि संशोधन प्रक्रिया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढाएमा सरकारबाट वर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ।’